कृषिमा बजेट बढ्नु क्रान्तिकारी छलाङ : बर्षमान पुन

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले निर्यातमुखी कृषि क्षेत्रलाई सरकारको आगामी वर्षको बजेटले प्राथमिकता दिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले बजेटको प्राथमिक क्षेत्रमा कृषिको रूपान्तरण पर्नु आफैंमा महत्वपूर्ण र क्रान्तिकारी छलाङ भएको बताए । उनले कृषिको माध्यमबाट थप पाँच लाख रोजगारी सिर्जना गर्ने भन्ने कुरामा कसैले विरोध गर्नु जरुरी नरहेको बताए ।

‘धान मकै, गहुँ लगायतका कृषि उपजको आयात ३० प्रतिशतले घटाउने कुरा सही छ । ८ लाख निरपेक्ष गरिबीमुनि रहेकाहरूलाई माथि उठाउने सकारात्मक छ’, उनले भने, ‘किसान पेन्सन कार्यक्रमले कृषि क्षेत्रलाई आकर्षित बनाउने योजना लिएको छ । वर्षेभरी दुख गरे पनि खान नपाउने समस्या समाधान गर्न वैज्ञानिक कृषि प्रणालीको प्राथमिकता बजेटमा देखिनु महत्वपूर्ण हो ।’

सांसद पुनले बजेटका सिद्धान्त र प्राथमिकता र सरकारको नीति तथा कार्यक्रम र बजेट एउटै दिशानिर्देशमा आएकाले पनि बजेट समयमै कार्यान्वयन हुने र अपेक्षित लक्ष्य हासिल गर्नेमा आफू विश्वस्त रहेको बताए ।

 
 
  
 

You may also like