दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको तारा एयरको विमान

मुस्ताङ । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला भेटिएको छ । मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।

मुस्ताङका डिएसपी रामकुमार धानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा पुगेको जानकारी दिए ।

नेपाली सेनाका प्रवक्ता सिलवालले विमान भेटिएको र थप विवरण आउन बाँकी भएको जानकारी दिए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले पनि धौलागिरी हिमश्रृङ्खलाको तल्लो भागमा विमान भेटिएको सूचना पाएर आफूहरु त्यतातर्फ जाँदै जानकारी दिए ।

‘हामी कन्फम गर्दैछौं । सम्भवत अपेक्षा गरौं, भेटिएको जस्तो छ,’ उनले भने, ‘धौलागिरी हिमश्रृङ्खलाको तल्लो भागमा भेटिएको भन्ने छ । हामी त्यहाँ पुग्दैछौं ।’ यसबारे थप विवरण आउन बाँकी रहेको जनाइएको छ । आज बिहान ५ बजेबाट नै सेना र प्रहरीको टोली खोजी कार्यमा संलग्न भएको थियो ।

 
 
  
 

You may also like