सिद्धार्थनगरलाई उत्कृष्ट नगरपालिका बनाउँछौ : नगरप्रमुख खान

भैरहवा ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले सिद्धार्थनगरलाई उत्कृष्ट नगर बनाउने बताएका छन् । उनले उत्कृष्ट नगर बनाउने नसके पाँच वर्षपछि हिसाब माग्न आग्रह गरेका छन् ।

उद्योग व्यापार संगठन रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको स्वागत, बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नगरप्रमुख खानले जनताले जिताएर आफूहरुलाई सम्मान गरेको बताए । उनले छाडा चौपाय र फोहोरमैलाको व्यवस्थापन नगरपालिकाको प्राथमिकतामा रहेको बताए । उनले भने, ‘नगर सफा भएन र दुर्गन्धित भए त्यसले मलाई पनि असर गर्छ, त्यसैले नगरलाई ‘क्लीन एण्ड ग्रीन’ बनाउन लागिपरेको छु । ’ उनले पार्टी भन्दा माथि उठेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । धर्म भन्दा माथि मानवता भएको उनको भनाइ थियो ।

images
नगरबासीलाई कुनै पीडा र अफ्ठयारो भए गुनासो गर्ने पूर्ण अधिकार भएको नगरप्रमुख खानले बताए । पैसा कमाउने नियतका साथ काम नगर्न आफूले प्राविधिकहरुलाई निर्देशन दिइसकेको उनको भनाइ थियो । उनले भने, ‘वातावरणमैत्री शहर बनाउन लागिपरेका छौं, मैले पाएको मत बराबर विरुवा रोप्ने घोषणा गरिसकेको छु । ’

सिद्धार्थनगर नगरपालिकाको निर्वाचित टीम एकढिक्का भएर काम गर्नुपर्नेमा उनले जोड दिए । काम गर्दा जनताको नोक्सानी नभए पार्टीको पनि नोक्सानी नहुने उनले दावी गरे ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सिद्धार्थनगरले संयुक्त सरकार पाएको बताइन् । उनले नगरपालिकामा जनप्रतिनिधिको रुपमा निर्वाचित सबैको एउटै उद्देश्य नगरको विकास नै भएको बताइन् । उनले भनिन्, ‘नगरमा साना साना कामबाट सुरु गर्नुपर्छ, साना भनिएका कामबाट नागरिकलाई ठूलो राहत मिल्छ । ’

यसअघिको स्थानीय सरकारको नेतृत्वले सिद्धार्थनगरमा राम्रो काम गरेको र राम्रो काम गर्ने क्रममा केही कमीकमजोरी हुनु स्वभाविक भएको बताइन् । उनले भनिन्, ‘म विश्वास दिलाउन चाहन्छु, हातेमालो गरेर अगाडी बढ्छौं, आफूहरुबाट केही कमीकमजोरी भए ढुक्कसँग भन्न आग्रह गर्न चाहन्छु ।’

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष नारायण प्रसाद उपाध्यायले संगठनलाई आवश्यक सहयोग गर्ने बताए ।

सिद्धार्थनगर–५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठले नगरबासीको सल्लाह सुझाव अनुसार अगाडि बढ्ने बताए ।

सिद्धार्थनगर–९ का अध्यक्ष शेषकान्त भण्डारीले सिद्धार्थनगर कुनै व्यक्ति विशेषको नभइ सबैको भएको बताए ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले संगठनले उद्योगी व्यवसायीको आवाज निरन्तर उठाउँदै आएको बताए । उनले अहिलेको निर्वाचित जनप्रतिनिधिबाट संगठनलाई सहयोग हुने विश्वास व्यक्त गरे ।

संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले केन्द्रमार्फत नगरपालिकामा आएको सम्पूर्ण रकम संगठनलाई प्राप्त नभएकोले उक्त रकम उपलब्ध गराइदिन माग गरे । उनले भने, ‘विभिन्न समस्याका बाबजुद संगठनको भवन निर्माण गरिएको छ, तर केन्द्रबाट नगरपालिकामा आएको सम्पूर्ण रकम पाएका छैनौ, उक्त रकम उपलब्ध गराउन नवनिर्वाचित जनप्रतिनिधिहरुले भूमिका निर्वाह गर्नुपर्छ ।’ उनले निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्न आग्रह गरे ।

संगठनका पूर्व अध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीले संगठनले उत्कृष्ट कार्य गर्दै आएको बताए । उनले भने, ‘जनप्रतिनिधिले सबैको मन जित्न धेरै काम गर्नुपर्छ, काम सुरु गरेपछि कुनै काम बाँकी नराख्नुहोस्, सम्पन्न हुन सक्ने काम मात्रै सुरुवात गर्नुपर्छ ।’

संगठनका सल्लाहकार सुरेन्द्र बस्यालले सानासाना कुरामा जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताए । उनले जनप्रतिनिधि आइसकेपछि समस्या समाधान हुन्छ भन्ने आशामा नगरबासी रहेको बताए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले जनप्रतिनिधिको पाँच वर्षे कार्यकालको समीक्षा गरेर स्वागत, सम्मान, बधाई कार्यक्रम गर्नुपर्ने र अहिले भएका कार्यक्रमहरुलाई छोट्टयाउनुपर्ने बताए । उनले जनताले मत दिएर जनप्रतिनिधिहरुको सम्मान गरिसकेको बताए ।

मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष केशवराज ज्ञवाली, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपाने, उद्योग व्यापार संगठन अन्तर्गत उद्यमी महिला उपसमितिका अध्यक्ष विन्दु न्यौपाने लगायतले बोल्दै नगरभित्र रहेको मुख्य समस्याहरु समाधान गर्न जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताए ।

संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीको स्वागत, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like