जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजांच तथा औषधि उपचार गर्ने सियारीका अध्यक्षको घोषणा

बुटवल । रुपन्देहीको सियारी गाउंपालिकाका नवनिर्वाचित अध्यक्ष थानेश्वर घिमिरेले पदभार ग्रहण गर्नुभएको छ । उहांले ७० वर्षमाथिका जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य चेकजांच तथा औषधि उपचार गर्ने र सुत्केरी तथा नवजात शिशुलाई तीन महिनासम्म घरमै पुगेर खोप लगाउने निर्णय गरेर पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहणपछि बोल्दै अध्यक्ष घिमिरेले गाउंपालिकाका नागरिकलाई आवश्यक पर्ने रगत आगामी साउन १ गतेदेखि निशुल्क रुपमा वितरणको व्यवस्था गाउपालिकाले नै गर्ने समेत निर्णय गर्नुभयो ।

सो अवसरमा बोल्दै अध्यक्ष घिमिरेले गाउंपालिकालाई आवश्यक पर्ने वाहेक अन्य ठेक्कापट्टामार्फत नदीजन्य पदार्थ निकासी गर्दा मेसिनको प्रयोग निषेध गरिने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा निवर्तमान गाउंपालिका अध्यक्ष अयोध्याप्रसाद थारुले सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा अघि बढ्न नयां नेतृत्वलाई सुझाव दिनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका युवा, खेलकुद तथा शिक्षामन्त्री वसिउद्दिन खानले विगतका जनप्रतिनिधिले शुरु गरेका राम्रा कामलाई अनुशरण गर्न र जनताको चाहना अनुसार नयां काम गर्न सुझाव दिनुभयो । उहांले सियारीको विकासमा प्रदेश सरकाले सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

सोमबार सियारी गाउपालिकाका अध्यक्ष घिमिरे,उपाध्यक्ष तारा थारुसहित ३७ जना जनप्रतिनिधले पदभार ग्रहण गर्नुभएको छ ।

 
 
  
 

You may also like