नयाँ मतदातालाई आज र भोलि मतदाता परिचयपत्र दिइने, सँगै मतदाता शिक्षा पनि

काठमाडौं । स्थानीय तह निर्वाचन ०७९ मा सहभागिताका लागि नयाँ मतदातालाई आज र भोलि मतदाता परिचयपत्र बाँडिने भएको छ । वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने मतदानमा उमेर पुगेका बालिगलाई मतदानको अधिकार सुनिश्चित गर्न आज र भोलि मतदाता परिचयपत्र बाँडिने भएको हो ।

यही वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदानमा भाग लिन पाउने छन् । मतदान गर्न मतदाताले अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था छ । अघिल्लो निर्वाचनमा वितरण भएको मतदाता परिचयपत्रबाटै मतदान गर्न पाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । ‘पहिले बाँडिसकेको मतदाता परिचपत्र हुनेले सोही परिचयपत्रबाट मतदान गर्ने हो’, उनले भने ।

हराए वा नष्ट भएकाको हकमा के हुन्छ ?
निर्वाचन आयोगले गत फागुन ५-२० गतेसम्म परिचयपत्र नष्ट भएको वा हराएको भए वडा कार्यालयको सिफारिसमा प्रदेश वा जिल्ला निर्वाचन कार्यलयमा निवेदन दिन मतदातालाई आग्रह गरेको थियो । आयोगले दिएको समयमा निवेदन दिएका त्यस्ता मतदाताले मतदाता परिचयपत्रको प्रतिलिपि पाउने प्रवक्ता शर्माले जानकारी दिए ।

‘परिचयपत्र हराएकाका हकमा प्रतिलिपि लिनका लागि निवेदन दिने म्याद दिइएको थियो । निवेदन दिनु भएको छ भने प्रतिलिपि आउने छ । सोही प्रतिलिपि वितरण हुनेछ’, उनले भने । यो पटक ३६ लाख ६१ हजार २९९ नयाँ मतदाता थपिएका छन् ।

मतदाताले मतदान केन्द्रबाटै परिचयपत्र लिन सक्ने छन् । मतदाता नामावलीमा नाम भएकाहरूले आफैले प्रिन्ट गरे त्यसलाई पनि मान्यता दिने आयोगको तयारी छ । निर्वाचन आयोगका अनुसार एकै चरणमा हुन लागेको निर्वाचनमा देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अरू मतदाता छन् ।

मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिने छन् ।

आयोगले आज र भोलि मतदाता शिक्षा दिने
निर्वाचन आयोगले वैशाख २८ (आज) र २९ (भोलि) गते मतदाता शिक्षा दिने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमुना मतपत्रमा मतदान गर्न सिकाउने छ ।

टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ । निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा निर्वाचनकै दिन दिइने गरिएकोमा यस पटक अघि नै गरिने भएको हो । वैशाख ३० गते निर्वाचन हुँदैछ ।

 

 
 
  
 

You may also like