बुटवलको सुन पसलबाट चोरी फरार हुने ३ भारतीय नागरिक प्रक्राउ

बुटवल । बुटवलबाट सुन पसलमा चोरी गरेर फरार भएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीनै जना भारतीय नागरिक हुन् ।                                                                                                           बुटवल उपमहानगरपालिका वडा नं. ६ विपि चोकमा दिलबहादुर सुनारले सञ्चालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट यहि बैशाख १३ गते राती नगद सहित तीन करोड बढीको सुनका गरगहना चोरी भएको थियो ।
चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले भारत जौहरी मोहल्ला चौँक लखनउ चौक उत्तर प्रदेशका ३६ वर्षीय मोहसिंह अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कालोनी लखनउ उत्तर प्रदेशका २५ वर्षीय मोहद जीशान खान र भारत तकिया पेपर मिल कालोनी सी ब्लक–२ निशातगञ्ज महानगर लखनउ उत्तर प्रदेशका २२ वर्षीय मो सारीकलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ठगबहादुर केसीका अनुसार उनीहरुलाई ईलाका प्रहरी कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ साढे ५ बजेको समयमा रुपन्देहीको लुम्बिनी साँस्कृतिक ननगरपालिका वडा नं.–४ महुवारीबाट पक्राउ गरिएको हो ।
खुनगाई–कालीदह सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको भारतीय नम्बर प्लेट यु.पी. ३२ एल.डब्लु. ३१५१ वागोनरमा सवार उनीहरुलाई सवारी चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो ।
उनीहरुको साथवाट प्रहरीले १०÷१० ग्रामको सुनको बिस्कुट २ थान, २० ग्रामको सुनको बिस्कुत १ थान, गरगहना गालेर डल्लो बनाएको सुनको ढिक्का थान १ थान, पैसा आकारको सुनको सिक्का १ थान मोवाई ३ थान र १०० दरको ६० थान भारतीय रुपैंया बरामद गरेको छ । त्यस्तै आधार कार्ड र एटिएम कार्ड पनि बरामद गरिएको छ ।
पक्राउ परेको उनीहरुलाई प्रहरी हिरासतमा राखेर चोरी मुद्धामा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक केसीले बताउनु भयो ।

 

 
 
  
 

You may also like