थारु समुदायको समर्थन गठबन्धनलाई

बुटवल । बुटवलका थारु समुदायले पाँच दलीय गठबन्धनबाट प्रमुख पदका उम्मेदवारलाई विजयी बनाउने बताएका छन् ।
बुटवल १६ नरैनापुरमा मतदाता भेटघाट गर्न पुगेका कांग्रेस नगर सभापति समेत रहेका प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे र उपप्रमुखका उम्मेदवार चिनबहादुर गुरुङलाई जिताउन थारु समुदाय लाग्ने विश्वास दिलाएका छन् ।
थारु समुदायका अगुवा शान्तकुमारी कठरियाले थारुहरुका समस्या समाधान गर्नका लागि कांग्रेसले अगुवाई गर्नुपर्ने बताइन् ।
‘यसअघि एमालेका नेताहरु आएर के के गर्छौ भनेर आश्वासन दिएर गएका थिए, तर त्यसपछि फर्केर आएनन्, उनले भनिन्–हामीलाई आश्वासन भन्दा बढी काम गर्ने मान्छे चाहिएको छ, तपाइँबाट आशा छ, विश्वास पनि छ, हामी यसपालि तपाईलाई जिताउँछौं ।’
उम्मेदवार पाण्डेले सो क्षेत्रमा थारु होमस्टे बनाउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने–‘यहाँ होमस्टे बनाउनका लागि म अगुवाई गर्छु, होमस्टे चलाएपछि नगरबाट के सहयोग गर्नुपर्छ, होमस्टे नै बनाइदिनुपर्ने हो भने पनि त्यसरी नै अघि बढाउनेछु ।’
पाण्डेले एक वार्ड एक पहिचान नीति लिइने बताउँदै एक सामुदायिक वन एक पार्क नीति ल्याउने बताए । उनले बुटवलमा अहिलेसम्म नगरकै तर्फबाट अस्पताल नभएकाले २ वटा नगर अस्पताल निर्माण गर्ने बताए ।
‘एक गृहणी एक उत्पादनः बुटवलको स्वाभिमान कार्यक्रम सञ्चालन गर्ने, कृषि मण्डी स्थापना गर्ने, बेलबास बेथरी सडक छिटै पूरा गराउने, घरबहाल कर घटाउने, हाटबजार व्यवसायीको बैठकी कर घटाउने जस्ता जनतालाई सिधै प्रभाव पर्ने कुरामा हामीले एकदमै ध्यान दिएका छौं,–उनले भने ।
यस्तै उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङले समानुपातिक विकास र मुलुकमा स्थीरता ल्याउनका लागि गठबन्धनलाई विजयी बनाउनुपर्ने बताए ।
उनले भने–‘एकपटक निर्वाचन भएपछि ५ वर्षसम्म मुलुकलाई स्थीर रुपमा चलाउनका लागि गठबन्धनलाई नै जिताउनुपर्छ, स्थानीय तहमा पनि गठबन्धनलाई जिताउनुस्, हामी बुटवलको बारेमा जे जे नराम्रो कुराहरु बजारमा आइरहेका छन्, त्यसलाई पूर्ण रुपमा सुधार गर्छौं ।’
उपमहानगरपालिका कार्यालयलाई आम नगरवासीको अपनत्व झल्किने समावेशी र अपांगतामैत्री बनाउदै साझा चौतारीका रुपमा बिकास गरिने छ । मेयर युथ एडभाइजरी बोर्ड गठन गरिनेछ ।’
पाँच दलले देशविदेशमा रहेका बुटवलका बुद्धिजीवि र व्यवसायिक व्यक्तिहरुलाई बुटवलमै फर्केर आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नसक्ने बनाउनका लागि अनुसन्धानविद्हरु समेटेर बुटवलका लागि प्रबुद्ध परिषद् गठन गर्ने योजना अघि सारेका छन् ।
घण्टौं लाइन लागेर सार्वजनिक सेवा लिनुपर्ने बाध्यतालाई हटाउन कागजविहिन, व्यक्ति स्वयम् उपस्थित हुन नपर्ने र लाईन लाग्न नपर्ने गरी सेवा दिने प्रतिबद्धता संकल्प पत्रमा जनाइएको छ ।
यस्तै विशिष्ट सार्वजनिक सेवा दु्रत रुपमा घरघरै पु¥याइने, सार्वजनिक प्रशासनलाई भ्रष्ट्राचार र अनियमितता मुक्त बनाउन सेवा प्रवाहका आधुनिक र सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी अवलम्बन गर्ने र सार्वजनिक सेवा प्राप्त गर्न एकद्वार नीति अवलम्बन गरी सिफारिस, राजस्व सेवा, घर–नक्सा इजाजत जस्ता सेवाहरुलाई डिजिटाइज र झन्झटमुक्त बनाउने योजना यी दलले अघि सारेका छन् ।
हाल गुनासो लिएर जाने जनतालाई जनप्रतिनिधिले हप्काएर पठाउने गरेको अवस्थालाई चिर्दै गुनासो सुन्नका लागि हेलो मेयर डेक्स स्थापना गर्ने योजना छ ।
बुटवलमा हाल मनपरी कर तिर्नुपर्ने अवस्था रहेकोमा गठबन्धनले व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिदै आएको घरबहाल कर, ई रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवम् सिफारिस शुल्क घटाइने भनेको छ ।
यस्तै सबै वडाको दिगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने प्रतिबद्धता गठबन्धनले गरेको छ ।
बुटवल उपमहानगरको आफ्नै अस्पताल नरहेको अवस्थामा गठबन्धनले बुटवलमा दुई वटा नगर अस्पताल निर्माण गर्ने योजना ल्याएको छ ।
यस्तै संकल्प पत्रमा भनिएको छ–‘हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र स्थापना गरिनेछ । वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाइने छ । स्वास्थ्य बिमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधी उपलब्ध गराइने छ । बुटवल उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गरिने छ । नगर भित्र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराइने छ ।’
यस्तै आयुर्वेद तथा प्राकृतिक चिकित्सालयको स्थापना तथा विकास गर्ने र लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताललाई स्तरोन्नति गर्ने भनिएको छ ।
‘आम्दा अस्पताललाई उपमहानगरपालिकाको मातहतमा ल्याई मेडिकल कलेजका रुपमा विकास गर्न आवश्यक पहल गरिने छ, गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण र पोषिलो खानाको व्यवस्था मिलाइने छ । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको दक्षता अभिवृद्धि र उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्दै मोबाइल हेल्थ वर्कर समूह गठन गरिने छ ।’
यस्तै नगरबासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउने, उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनाहरुलाई आवश्यकता अनुसार विकास, बिस्तार र सहयोग उपलब्ध गराउने योजना अघि सारेको गठबन्धनले झुम्साखोला खानेपानी परियोजना यथाशिघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ

 
 
  
 

You may also like