अघिल्लो चुनाबमा वाचा अधुरै राखेर भोट माग्दै एमाले, बुटवलका जनता आक्रोशित

२० बैशाख २०७९, मंगलवार

बुटवल । बुटवलमा चुनाब जित्न २०७४ मा एमाले उम्मेदवार शिवराज सुवेदीले प्रतिबद्धतापत्रमा भनेका थिए–बुटवललाई स्मार्ट सिटी र सेमलार तथा मोतीपूरलाई स्याटेलाईट सिटी बनाइनेछ ।

चुनाब जित्न एमालेले गरेको यो फण्डा उनले चुनाब जितेपछि भने कहिलेपनि अघि बढेन । यसबारे कुनै योजना नै बनेनन् । बरु उनको घोषणा र आश्वासनविपरीत बुटवल झन्झन् कुरुप बन्दै गयो । भित्री सडकहरु हिडिनसक्नु भएका छन् । एक झर पानी परे बुटवलका अमरपथदेखि राजमार्गचौराहासम्मका सडकमा डुबान हुन्छ ।
प्रदेश सरकारले बनाइदिएका केही सडकबाहेकका सडक भत्काएर अलपत्र पारिएका छन् । खानेपानीका पाइप अस्तव्यस्त छन् ।
बरु सुवेदीको कार्यकालमा बुटवल स्मार्ट होइन, धुलो, धुँवा, हिलो, फोहोर र खाल्डाखुल्डीको शहरको रुपमा पहिचान बनाएको नगरवासीको गुनासो छ ।
अव्यवस्थित विकासका कारण बुटवलको ज्योतिनगरका बासिन्दाले घरबार गुमाउनुप¥यो । आक्रोशित भएका ज्योतिनगरबासीले बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई झापड हाने ।

ज्योतिनगरकी कमलादेवी श्रेष्ठ भन्छिन्–‘सयौंपटकसम्म नगरपालिका धाएर हाम्रो समस्या समाधान गरिदिनुस् भन्दा सुनुवाई भएन, अब यस्ता नगरप्रमुखको पार्टीलाई पनि कसैले भोट दिन्छ, म मैले चिनेजानेका सबैलाई एमालेलाई भोट नदिनुस् भन्छु ।’
चुनावी घोषणापत्रको प्राथमिकतामा प्रमुख सुवेदीले २ वर्षभित्र झुम्सा खानेपानी आयोजना र एक वर्षभित्र फोहोरमैला प्रशोधन केन्द्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

तर पाँच वर्ष बितिसक्दासम्म यी दुवै आयोजनाको काम शुरु हुन सकेको छैन । फोहोर व्यवस्थापन केन्द्र बन्न नसक्दा बुटवलमा दैनिक उत्पादन हुने करिब ६० टन फोहोर तिनाउ नदी किनारमा फ्याँक्ने गरिएको छ जसले शहरको वातावरण प्रदुषित बनेको छ ।
नगरप्रमुख सुवेदीले चुनावमा गरेको अर्को वाचा हो–बुटवललाई महानगर बनाउन विकास परिषद् गठन गरी प्रक्रिया अघि बढाउने । यसबारे त कहिले पनि छलफल नै भएन ।

एमालेका जिल्ला अध्यक्ष समेत रहेका सुवेदीले मतदाता समक्ष १७ वटा शीर्षक र १२१ वटा बुंदामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेका थिए ।
अर्को वाचा थियो–७० वर्ष नाघेकालाई सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार बनाउने । यसबारे पनि नगरप्रमुख र उनको पार्टी मौन रह्यो ।
पारी बुटवलकी ७२ वर्षीया हिरादेवी श्रेष्ठ भन्छिन्–‘घरमै भोट मााग्न आउँदा आमा तपाइँलाई अब महिनाको ५ हजार रुपैयाँ खर्च दिन्छौं हामीले भन्थे, होला त नि भनेर दिइयो, चुनाब पनि जिते, तर त्यो दिनदेखि न ती मान्छेको मुख देख्न पाइयो न ५ हजार रुपैयाँ पाइयो ।’
पाँच वर्षभित्र तिनाउ–दानव कोरिडोर सडक बनाउने प्रतिबद्धता थियो । तर यो कोरिडोर सडक करिब १५ प्रतिशत निर्माण हुँदा अहिले विवादमा तानिएको छ । कोरिडोर प्रभावित बासिन्दाले उचित ठाउँमा स्थानान्तरण र क्षतिपुर्तिको माग गर्दै आन्दोलित छन् । केही जग्गाधनीले अदालतमा मुद्दा समेत दायर गरेका छन् ।
आयोजनाका सम्बन्धमा प्रमुख सुवेदीले सडक डिभिजन कार्यालयलाई कोरिडोर क्षेत्रमा जग्गासम्बन्धी विवाद छैन भनेर झुठो विवरण दिएर आयोजना अघि बढाएको भन्दै स्थानीयहरु रुष्ट छन् । सुवेदीले सो क्षेत्रमा कसैको बसोबास नै छैन आयोजनाको काम अघि बढाउन सकिन्छ भनेर विवरण बुझाएका छन् ।
अर्को चर्चित घोषणा हो–५ वर्षभित्र विपन्न परिवारलाई आवास सुविधा उपलब्ध गराउने, अव्यवस्थित बसोबास आयोग गठन गरी सुकुम्बासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाण पुर्जा दिने । यो वाचा चुनाबको समयमा निस्सा बाँडेर जनता झुक्याउने प्रयास गरिदैछ । बुटवल ११ का हीरामणि घिमिरे भन्छन्–‘लालपूर्जा पाइयो भनेको त, नगरपालिकाले नै ठगेछ, अहिले त लालपूर्जाको कुरा त हराएछ, फेरि लालपूर्जा दिन्छु भन्दै एमालेका मान्छे आए भने लठ्ठी लगाएर लखेट्छु ।’

एमालेका सुवेदीको अर्को प्रतिबद्धता थियो–बुटवललाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउन सशक्त र प्रभावकारी पहल गर्ने । उनी र एमालेले यसको ठीक विपरीतको काम ग¥यो । बुटवलमा बनाउनेमा सशक्त र प्रभावकारी काम गर्नुपर्नेमा दाङलाई राजधानी बनाउन जोडबलले लाग्यो । त्यसमा एमाले रुपन्देहीका तत्कालीन अध्यक्ष रहेका सुवेदी चुइक्क बोलेनन् । कांग्रेसले पटक पटक धर्ना र विरोध प्रदर्शन ग¥यो । कांग्रेसले गरेको आन्दोलनमा सहभागी नहुन एमालेले उर्दी जारी ग¥यो ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको सचिवालयका अधिकांशलाई कोरोना संक्रमण भएको समयमा एमालेले यसरी राजधानी बनाउने रणनीति सफल पा¥यो । तर एमाले रुपन्देही चुईक्क बोलेन ।
बुटवलका प्रमुखसुवेदीलाई गएको वर्षायाममा बुटवल ज्योतिनगरमा पहिरो जाँदा घरमा क्षति पुगेका परिवारको व्यवस्थापनमा बेवास्ता गरेको भन्दै एमालेकै कार्यकर्ताले मुक्का प्रहार गरे । लुम्बिनी बाणिज्य क्याम्पसमा अनेरास्ववियूको कमिटीमा आवद्ध स्नातक युवाले आफ्नै पार्टीका मेयरलाई सार्वजनिक स्थानमा थुप्रै मान्छेको सामुन्ने मुक्का हानेको त्यो घटनाले निकै ठूलो चर्चा पायो । सामाजिक सञ्जालमा मुक्का खाने प्रमुख सुवेदीप्रति सहानुभूति भन्दा मुक्का हान्ने युवाको समर्थनमा प्रतिक्रियाहरु आए ।

‘राम्रा काम गरेको भए आफ्नै कार्यकर्ताले मुक्का हान्ने थिएनन्’–एमाले छाडेर कांग्रेस प्रवेश गरेका अर्जुन श्रेष्ठ भन्छन्–‘वर्षायाममा बुटवलवासी पहिरोको त्रासमा बाँच्न र तिनाउको धमिलो पानी पिउन वाध्य छन् ।’ सुवेदीको दम्भी कार्यशैलीले यो ५ वर्षमा उनी लोकप्रिय हैन बद्नाम भएका र एमालेकै कैयौं नेता कार्यकर्ता उनको कार्यालयमा पाइला नटेकेको उनले बताए ।
पाँचदलीय गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार कांग्रेसका नगर सभापति खेलराज पाण्डे नगरप्रमुख शिवराज सुवेदी र उनको पार्टी चुनावी प्रतिवद्धताहरु पूरा गर्न पूर्णरुपमा चुकेको बताउँछन् ।

‘बुटवललाई स्थायी राजधानी, महानगर, सुकुम्बासीलाई लालपुर्जा, कालीगण्डकी डाइभर्सन, तिनाउ दानव कोरिडोर सडक लगायतका महात्वाकांक्षी सपना देखाएर भोट मागियो तर जितेपछि यी कुनै कुरा पूरा भएनन्’–पाण्डे भन्छन्–‘बुटवल उपमहानगरलाई सबैको साझा बनाउनुको साटो एमालेको पार्टी कार्यालय जस्तो एकलौटी बनाइयो ।’

योजना तर्जुमा, वजेट र विकास निर्माणमा प्रमुख सुवेदीले फरक दल र फरक विचारलाई पूर्णतः उपेक्षा गरेर एकलौटी ढंगले अघि बढेको पाण्डेको भनाई छ । मोतिपुर औद्योगिक क्षेत्र र तिनाउ दानव कोरिडोरका नाममा वर्षौंदेखि बसोबास गरेका सयौं परिवारलाई वैकल्पिक व्यवस्थापन नगरी विस्थापित बनाउने गरी नगरप्रमुख सुवेदीले भूमिका खेलेको पाण्डे आरोप लगाउँछन् ।

यी काम पनि अधुरै रहे
चुनाबका बेला एमालेले गर्छु भनेका धेरै काम गरेन । तीमध्येका हुन–चक्रपथ निर्माण, एक वर्षभित्र अटो भिलेज निर्माण, ४ स्थानमा विद्युतीय शव दाह गृह निर्माण, बन्द रहेको बुटवल धागो कारखाना सञ्चालन, दुई वर्षभित्र मोतिपुर औद्योगिक क्षेत्र सञ्चालन, माध्यमिक तहको शिक्षा निशुल्क, बृद्धबृद्धाको स्याहार सुसार गर्न केयर सेन्टर, जेष्ठ नागरिकलाई उपचार गर्ने जेरियाटिक हस्पिटल, निःशुल्क नगर एम्बुलेन्स, ७० वर्ष नाघेकालाई सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार बनाउने ।

एक टोल एक सार्वजनिक शौचालय तथा महत्वपूर्ण स्थानमा सार्वजनिक शौचालयहरुको ब्यवस्था, नगर क्षेत्रका सडकहरु आधुनिक उपकरणहरुको प्रयोगद्धारा दैनिकरुपमा सफाई, सिद्धवावा, तिनाउ पुल र मघरघाट क्षेत्रमा बाँध बाँधी जल पर्यटनको विकास, बुटवल बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार समयानुकुल बनाई सामाजिक र विज्ञान विषयको अनुसन्धान केन्द्रको रुपमा विकास गरिने, दुर्घटनाका कारण घाइते हुनेहरुका लागि सिघ्र उपचारको ब्यवस्था गर्न ट्रमा सेन्टरको स्थापना गर्ने काम पनि भएन ।

उपमहानगर क्षेत्रभित्रका महत्वपूर्ण सार्वजनिक स्थानहरुमा फ्री वाइफाइ जोन तथा विभिन्न स्थानमा आधुनिक सुचना केन्द्रको स्थापना, विद्युत तथा टेलिफोनका तारहरुको प्रसारण तथा विस्तार गर्दा भूमिगत प्रणाली अवलम्वन गरिने, हिंसा पीडित महिलाका लागि सेफ हाउस, गरीब परिचय पत्र र विशेष सुविधा दिन्छु भनेका भएपनि यी काम पनि अधुरै रहे ।

यस्तै बुटवल–भैरहवा–लुम्बिनी–तिलौराकोट पर्यटक बस सञ्चालन, ट्रलि बस र मोनो रेल चलाउन पहल, हरेक वनमा अलग–अलग सफारी पार्क, कालोपत्रे सडक किनारमा बृक्षारोपण लगायतका वाचा पनि पूरा भएनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया