पत्रकार डा. बालकृष्ण चापागाईंको वडा सदस्यमा उम्मेदवारी

बुटवल । यही वैशाख ३० मा हुने स्थानीइ तह निर्वाचनका लागि बुटवल उपमहानगरपालिकाको वडा सदस्यमा डाक्टर बालकृष्ण चापागाईँले उम्मेदवारी दिएका छन् । मेयर पदको दाबी गर्दै आएका उनले सोमबार वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्जसमेत रहेका चापागाईँले गठबन्धनबाट आफूले मेयर पद पाउनु पर्ने बताउँदै आएका थिए । नेकपा एमालेमा रहँदा समेत ०५४ तथा ०७४ सालमा बुटवलको मेयरका लागि दावेदारी गरेका थिए । सोमबार मनोनयन दर्ताको अन्तिम समयमा साँझ साढे ५ बजे उनले बुटवलस्थित निर्वाचन कार्यालयमा बुटवल वडा नं ४ को वडा सदस्यमा उम्मेदवारी दिएका थिए ।

पिएचडी अध्ययन गरेका र दसकौँ पत्रकारितामा बिताएका उनले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । चापागाईँ प्रेस चौतारीको पूर्वकेन्द्रीय अध्यक्ष तथा राससको पूर्व कार्यकारी अध्यक्ष हुन् । आफ्नो वडाको, टोलको विकासमा ध्यान नदिने परम्परा तोड्न र पार्टीका उपस्थितिलाई समेत जोड्न मेरो उम्मेदवारी हो- डा. चापागाईँले भने । नेकपा एसलाई बुटवलको भागबन्डामा उपमेयर परेको थियो त्यो पदमा पार्टीले चीनबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।

 
 
  
 

You may also like