स्थानीय तह निर्वाचन : आजदेखि मतपत्र ढुवानी

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० हुने स्थानीय निकायको निर्वाचनका लागि आजबाट मतपत्र ढुवानी सुरु गर्ने भएको छ । हेलिकोप्टर, कन्टेनर, ट्रकलगायत सवारी साधनबाट ढुवानी हुने यसअघि नै आयोगले जनाइसकेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत मतपत्र छपाईको काम सकिएको र बाँकी मतपत्रको छपाई कार्य जारी रहेको बताए । उनका अनुसार हालसम्म ६८ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार मत पत्र छाप्ने काम सकिएको छ । आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ ।
निर्वाचनमा ६८ संस्थाका २० हजार पर्यवेक्षक
निर्वाचन आयोगले वैशाख ३० हुने स्थानीय निकायको निर्वाचनका लागि २० हजार पर्यवेक्षकले परिवेक्षण गर्ने जनाएको छ । निर्वाचन पर्यवेक्षणका लागि हालसम्म ६८ वटा संस्थाले अनुमति लिएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

२० हजार पर्यवेक्षकलाई आयोगको परिचय पत्रसहित मतदान केन्द्रहरुमा परिचालन गरिने प्रवक्ता पौडेलले बताए । यसैबीच, निर्वाचन सुरक्षामा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । नेपाल प्रहरीले ६५ हजारभन्दा बढी जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका ७१ हजार जनशक्ति निर्वाचनमा खटिने छन् भने सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति निर्वाचनमा परिचालिने हुने छन् ।

 
 
  
 

You may also like