स्थानीय निर्वाचन : एक लाख ३६ हजार बढीको उम्मेदवारी

काठमाडौं । यहि बैसाख ३० गते हुने पालिका चुनावका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् ।

कतै बाजागाजासहित उम्मेदवारी दर्ता भएको छ भने कतै बागी उम्मेदवारी परेको छ । यस्तै, कतै निर्विरोध छ । निर्वाचन आयोगले हिजो र अस्ति उम्मेदवारी मनोनयन दर्ता गराउने समय दिएको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार देशभरका ७५३ पालिकामा प्रमुख, उपप्रमुख र सदस्य पदका लागि एक लाख ३६ हजार हाराहारीमा उम्मेदवारको मनोनयन दर्ता भएको छ तर यो संख्या घटबढ हुनसक्छ । विवरण अद्यावधिक भइरहेकाले यो तथ्याङ्क अन्तिम नभएको उनको भनाइ छ ।

देशभरका पालिकामा गरी ३५ हजार २२१ पदका लागि अहिलेसम्म एक लाख ३६ हजार बढीले उम्मेदवारी दिएका हुन् । केही ठाउँमा नेटवर्कमा समस्या भएकाले विवरण अद्यावधिक गर्न ढिलाइ भएको छ । मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन भएपछि मात्रै यकिन उम्मेदवारको विवरण थाहा हुने उनले बताएका छन् । उनका अनुसार आज मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशनको तयारी भइरहेको छ ।

 
 
  
 

You may also like