बुटवल उपमहानगरपालिकामा एमाले र राष्ट्रिय जनमुक्ति पार्टी मिलेर चुनाव लड्ने

बुटवल । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ।

शनिबार दुवै पार्टीका बीचमा भएको सहमति अनुसार उपमहानगरपालिकामा दुवै पार्टीले मिलेर निर्वाचनमा जाने सहमति गरेका हुन्। जसअनुसार उपमहानगरपालिकाको प्रमुख, उपप्रमुख, १९ वटै वडा अध्यक्ष समेत ८६ पदहरूमा नेकपा एमाले र ११ जना वडा सदस्यहरू राष्ट्रिय जनमुक्ति पार्टीबाट उठाइने सहमति भएको हो।

नगरप्रमुख, उपप्रमुख, १९ वटा वडाका अध्यक्ष र सदस्यहरू गरी बुटवलमा ९७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन्।

दुई पार्टीका बीचमा भएको सहमति अनुसार निर्वाचन कार्यालय स्थापना, प्रचार प्रसार लगायत स्थानीय निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामहरू समेत दुवै पार्टीले संयुक्त रूपमा सञ्चालन गर्ने सहमति भएको छ।

एमालेका बुटवल नगर अध्यक्ष किसन ज्ञवाली र राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर कमिटीका अध्यक्ष भेकबहादुर सारु मगरले दुबै पार्टीका तर्फबाट सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

 
 
  
 

You may also like