चिडियाखानामा बनाइयो ‘चिम्पाञ्जीको घर’

काठमाडौं । नयाँ वर्षको आगमनसँगै सदर चिडियाखानाले सर्वसाधारणको लागि पहिलो पटक एक जोडी चिम्पाञ्जी अवलोकन कक्षमा राखेको छ ।

जावलाखेलस्थित सदर चिडियाखानाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी चम्पा (पोथी) र चिम्पु (भाले) नाम गरेका एक जोडी चिम्पाञ्जी अवलोकनका लागि सार्वजनिक गरेको हो । यो एक दुर्लभ प्रजातिको वन्यजन्तु हो । चार वर्षअघि अवैध रुपमा ल्याइएका चिम्पाञ्जीलाई विसं २०७४ असोजमा केन्द्रीय अनुसन्धान ब्युरोले उद्धार गरी सदर चिडियाखानालाई दिएको हो ।

सोही अवसरमा वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेल तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले चिडियाखाना परिसरमा चिम्पाञ्जीको नवनिर्मित घरको पनि उद्घाटन गरेका थिए ।

उक्त जनावरको जोडीलाई राजी राणा ट्रष्टको राजी राणाले वार्षिक रु १० लाख उपलब्ध गराएर अभिभावकत्व लिएका छन् । मुख्यतया अफ्रिकामा पाइने यस जनावरको प्राकृतिक वासस्थान नदीतटीय, घाँसे मैदान, वन तथा झाँडी हो । यसको औसत तौल ४० देखि ६० केजीसम्म रहेको छ ।

यसले फलफूल, रुखका बोक्रा, बीउ र फूल खाने गर्छ भने यसको गर्भाधारण अवधि आठ महिना हो भने आयु ४५ वर्ष रहेको पाइएको छ । चिडियाखानाका प्रमुख व्यवस्थापक रचना शाहले चिम्पाञ्जी अवलोकनका लागि राखेसँगै यहाँको आकर्षण बढेको भन्दै अवलोकनकर्ता बढ्ने विश्वास व्यक्त गरे ।

चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जनावर रहेका छन् । जहाँ मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा रहेका छन् । ती प्रजातिमध्ये ३३ स्थनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।

अब चिडियाखाना जाँदा पहिले जस्तो टिकट काट्नको लागि लाइन बस्नु पर्दैन । अग्रिम अनलाइन टिकट काट्न सकिने व्यवस्था गरिएको छ । चिडियाखानाको वेवसाइट वा इसेवामार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको व्यवस्थापकको भनाइ छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रूपमा स्थापना गरेका हुन् । विसं २०११ बाट सर्वसाधारणका लागि खुल्ला गरिएको चिडियाखाना विसं २०५२ बाट यसको व्यवस्थापनको जिम्मेवारी ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको हो ।

 
 
  
 

You may also like