रुपन्देहीका ६ वटा पालिकामा गठबन्धन दल एक्लाएक्लै भिड्दै

बुटवल । रुपन्देहीको दक्षिणी क्षेत्रका ६ वटा पालिकामा सत्तारुढ दलहरू एक्लाएक्लै निर्वाचन लड्ने भएका छन् । आफ्नो आधार इलाकामा जनता समाजवादी पार्टी नेपाल (जसपा) पछि हट्ने नदेखिएपछि गठबन्धन दलहरु निर्वाचनमा एक्लाएक्लै जान सहमत भएका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को उपस्थिति कमजोर भएको र जसले जिते पनि गठबन्धन दलकै उम्मेदवारले जित्ने अवस्था रहेकाले आफूहरु छुट्टाछुट्टै निर्वाचन लड्ने निष्कर्षमा पुगेको सत्ता गठबन्धनका दलहरूले तर्क दिन थालेका छन् ।

जिल्लाका १६ स्थानीय तहमध्ये दक्षिणी भेगका लुम्बिनी साँस्कृतिक नगरपालिका तथा मायादेवी, कोटहीमाई, मर्चवारी, सम्मरीमाई र गैडहवा गाउँपालिकामा गठबन्धनमा आबद्ध दलहरूले छुट्टाछुट्टै चुनाव लड्ने सहमति गरेका हुन् ।

यी पालिकाहरूमा एमाले कमजोर भएकाले छुट्टाछुट्टै प्रतिष्पर्धा गर्दा पनि गठबन्धन दलकै जीत हुने निष्कर्षसहित मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको नेपाली कांग्रेस रुपन्देहीका एक नेताले बताए ।

जसपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज देवेन्द्र पाण्डे ‘सागर’ ले एमाले कमजोर भएका पालिकामा गठबन्धनभित्रै प्रतिष्पर्धा गराउँदा सबै दलका नेताहरु खुसी हुने देखिएपछि यस्तो सहमति गरिएको बताए । ‘हामीले केन्द्रमा अलगअलग प्रतिष्पर्धा गर्ने सुझाव पठाएका छौं, यो यहाँबाट हुने निर्णय भएन तर कार्यकर्ता जोगाउन सबै दलको सहमतिमा यस्तो निर्णय गरिएको हो’, उनले भने ।

गत स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)ले ८, जनता समाजवादी पार्टी नेपाल (जसपा)ले ४ र नेपाली कांग्रेसले २ वटा र नेकपा (माओवादी केन्द्र)ले १ पालिकाको प्रमुखमा जित हासिल गरेका थिए । एउटा पालिकामा भने स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका थिए । अन्य पालिकाको हकमा पनि कसरी गठबन्धन गर्ने भन्ने विषयमा दलहरूबीच छलफल भैरहेको छ । जसपा सिद्धार्थनगर समितिले यसअघि नै सिद्धार्थनगर नगरपालिकामा गठबन्धन नगर्ने निर्णय गरिसकेको छ ।

 
 
  
 

You may also like