काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्ष गत वर्षको तुलनामा चाडै जाडो बढेको जनाएको छ । केही दिन यता काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ । दसैंलगत्तै तापक्रम घटेका कारण उपत्यकासहित देशभर नै चिसोको प्रभाव बढेकोे महाशाखाले जनाएको छ ।
मौसमविदका अनुसउार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो । धुवाँधुलोका कारण पनि वायुमण्डल प्रदूषित भएकाले चिसो चाँडै बढेको महाशाखाले जनाएको छ । अघिल्लो वर्ष ३ कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १७ डिग्री सेल्सियस रहेकामा यसपटक १४ डिग्रीमा झरेको छ ।
महाशाखाका अनुसार ‘सिजनल इफेक्ट’ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको छ । तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुन थालेको छ ।
काठमाडौं उपत्यकामा मात्र नभएर तराईका जिल्लामा समेत जाडो केही दिनमा बढ्ने महाशाखाको पूर्वानुमान छ । तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलो लाग्ने संकेत देखिएको छ ।
नेपालबाट मनसुन बाहिरिएसँगै पश्चिमी वायुको प्रभाव बढेको र न्यूनतम तापक्रम घट्ने क्रममा रहेको महाशाखाले जनाएको छ । महाशाखाले महाशाखाले पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।