बुटवलमा मेयरका लागि एमालेबाट ८ जनाको नाम सिफारिस

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) पदमा नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ ।
एमाले उपमहानगर कमिटीको बैठकले ३ जना केन्द्रीय सदस्यसहित ८ जनाको नाम जिल्लामा सिफारिस गरेको हो ।

नगर प्रमुखको उम्मेदवारका लागि अहिलेका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, राम प्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिस गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले बताए ।

एमाले केन्द्रीय सदस्य तथा नगर प्रमुख सुवेदीले आफूले अगाडि सारेका योजनाहरू पूरा गर्न पुनः एक पटक दोहोरिन चाहेको बताउँदै आएका छन् । उपप्रमुख आचार्यले आफू अब स्वतः मेयरको दाबेदार रहेको बताउँदै आएकी छन् ।

राना रुपन्देहीका युवा नेता हुन् । उनी सबैसँग घुलमिल छन् । औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष भट्टराई मिलनसार छन् ।
अर्यालले यसअघि उपमेयरमा दावी गर्दै आएकी थिइन् तर अहिले नगरले उनको नाम मेयरमा सिफारिस गरेको छ । अर्याल एमाले केन्द्रीय सदस्य हुन् । केसी एमाले रुपन्देहीकी अध्यक्ष हुन् । उनले पनि पार्टीले अगाडि सारे उपमहानगरको नेतृत्व सहाल्ने बताउँदै आएकी छन् । रेग्मी बुटवल उपमहानगरपालिकाको प्रवक्ता तथा १५ नम्बर वडाको वडाध्यक्ष हुन् भने भट्टराई लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व अध्यक्ष हुन् । उनी पनि एमालेका सबै नेतासँग नजिक छन् ।

उपमेयरमा पनि ८ जनाको नाम सिफारिस भएको ज्ञवालीले बताए । गत निर्वाचनमा एमालेले मेयर÷उपमेयरसहित १६ वडामा जीत हासिल गरेको थियो ।

 
 
  
 

You may also like