चुनाव लड्छु भन्ने बित्तिकै ६/७ करोड चाहिने अवस्था भयो : शशांक कोइराला

काठमाडौं । प्रमुख सत्तारुढ नेपाली कांग्रेसका नेता शशांक कोइरालाले विगतमा भन्दा चुनाव निकै खर्चिलो भएको गुनासो गरेका छन् । उनले अब चुनाव लड्छु भन्ने बित्तिकै ६/७ करोड चाहिने अवस्था आएको बताएका छन् ।

नेपाल विद्यार्थी संघ इलाम-काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कोइरालाले आफूले तीन पटक चुनाव लड्दा करिब १० करोड खर्च गरेको जानकारी दिए । ‘हुन त यो अफ द रेकर्ड कुरा हो । मैले आफ्नो कुरा गर्दा नवलपरासीबाट तीन पटक जितें । पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो, दोस्रो चुनावमा त्यो तीन करोड पुग्यो । गएको चुनावमा त छ करोड रुपैयाँ खर्च भयो,’ कोइरालाले अघि भने, ‘तपाईंहरूमध्ये कोही चुनाव लड्न तयार हुनुहुन्छ भने म छोड्न तयार छु । चुनाव किन यति महँगो भएको हो ? अब कसले चुनाव लड्न सक्छ ? चुनाव लड्छु भन्नेबित्तिकै तपाईंलाई कमसेकम ६/७ करोड चाहिने अवस्था छ ।’

नेता कोइरालाले आसन्न निर्वाचनमा सकेसम्म कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले आफूले त्यही कुरा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग सोध्दा माओवादी पार्टीको चरित्रका कारण गठबन्धन गरेर चुनाव लड्नुपर्ने अवस्था रहेको बताए ।

‘मेरो दृष्टिकोण कांग्रेस एक्लै लडनुपर्छ भन्ने हो । तर, सभापतिजीलाई भन्दा उहाँले मलाई भन्नुभयो कि माओवादी पार्टी जसको कुनै भविष्य नै छैन । यदि ऊ सँग हामीले गठबन्धन गरेनौँ भने ऊ फेरि एमालेसँगै मिल्छ,’ उनले भने, ‘माओवादीको थोरै मत एमालेसँग मिल्दा फेरि हाम्रो अवस्था साँघुरिन सक्छ । केही हदसम्म मलाई त्यो कुरा पनि ठीकै लाग्यो ।’ उनले कांग्रेसले अहिले आफ्नो शक्ति बढाएर सकेसम्म एक्लै चुनाव लड्नुपर्ने बताए ।

 
 
  
 

You may also like