नागढुङ्गास्थित सुरुङमार्गको भौतिक प्रगति ३५ प्रतिशत

काठमाडौं । नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । हालसम्म आर्थिक प्रगति ‘मोबिलाइजेसन एडभान्स’सहित ४३ प्रतिशत पुगेको छ । जमिनमा गरिने काममा सडकमार्ग खन्ने काम ७६ प्रतिशत सकिएको छ भने बाँधमा भर्ने काम ३७ प्रतिशत सकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

निर्माण गर्नुपर्ने संरचनामध्ये ‘ओभर पास’ सम्पन्न भइसकेको छ भने ‘फ्लाइओभर’ निर्माणाधीन छ । तीन ‘अन्डर पास’ मध्ये दुई सकिएको छ र चार ‘बक्स कल्भर्ट’ मध्ये तीन सकिएको छ । तीन पुल निर्माण गर्नुपर्नेमा हालसम्म दुई सकिएको छ । मुख्य सुरुङ हालसम्म पूर्वतर्फबाट ५५३ मिटर र पश्चिम तर्फबाट ५५३ मिटर गरी एक हजार १०६ मिटर सम्पन्न भएको छ ।

मुख्य सुरुङको लम्बाई दुई हजार ६८८ मिटर छ । ‘निष्काशन टनेल’ को लम्बाइ दुई हजार ५५७ मिटरमध्ये एक हजार ३८४ मिटर सकिएको आयोजनाले जनाएको छ । पूर्वतर्फबाट ५०७ मिटर र पश्चिम तर्फबाट ५७७ मिटर सकिएको छ । ‘वर्किङ अडिट’ सम्पन्न भइसकेको छ ।

‘क्रस प्यासेज’ १२८ मिटर लम्बाईमध्ये हालसम्म ४८ मिटर खनिसकेको छ । गत महिनामा ३० प्रतिशत भौतिक प्रगति रहेकामा एक महिनामा थप पाँँच प्रतिशत प्रगति भएको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ‘सफ्ट लोन’ मा निर्माणाधीन सो सुरुङमार्ग नेपालको पहिलो सुरुङ हो । जापान सरकारको ‘सफ्ट लोन’ मा २०७६ कात्तिकमा ४२ महिनामा सम्पन्न गर्ने गरी सो आयोजना निर्माण सुरु भएको थियो ।

नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच २०७६ असोजमा सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा-नौबिसे सडकखण्डमा दैनिक रूपमा हुने जाम हट्ने विभागले जनाएको छ ।आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका गरेर दुई वटा सुरुङको निर्माण हुनेछ ।

तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा सवारीसाधन सहज आवतजावत गर्न सक्ने छन् । एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्ने छन् । सहायक सुरुङ तत्काल उद्धारका लागि प्रयोग हुने बताइएको छ । ठाउँ-ठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्ने छ । रासस

 
 
  
 

You may also like