बलेफी हाइड्रोपावरको १८ करोड २७ लाखको आईपीओ आजबाट बिक्री खुला

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आज (बुधबार) बाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कम्पनीको कुल सार्वजनिक निष्कासनमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ । बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपीओ छिटोमा चैत २१ गते र ढिलोमा चैत ३० गतेसम्म भर्न सकिनेछ । न्यूनतम १० र अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूणर् सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले आयोजना प्रभावितलाई आईपीओ निष्काउसन गरी बाँडफाँड गरिसकेको छ । पहिलो चरणमा सिन्धुपाल्चोका आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरिएको थियो ।

कम्पनीले सिन्धुपाल्चोकको साविकका गुम्बा र गोल्चे गाविसस्थित बलेफीखोलाको पानीबाट ३६ मेगावाट क्षमताको ‘माथिल्लो बलेफी ए’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीको प्रवर्द्धकमा गोल्यान, शंकर र लक्की ग्रुप छन् ।

आयोजनको अनुमानित लागत सात अर्ब ६५ करोड ५९ लाख ४९ हजार ४८३ रुपैयाँ छ । निर्माण अवधिको ब्याजसहित आयोजनको प्रतिमेगावाट लागत २१ करोड २६ लाख ६५ हजार रुपैयाँ अनुमान गरिएको छ ।

 
 
  
 

You may also like