कांग्रेस प्रदेश सभापतिहरूले भने, ‘गठबन्धन गर्दै गए हामी सिद्धिन्छौ, भारतीय कांग्रेसकै हाल हुन्छ’

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रदेश सभापतिहरूले आफ्ना धारणा राख्ने क्रम शुरु भएको छ । यस क्रममा अधिकांश वक्ताहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे प्रतिक्रिया दिएका छन् ।

उनीहरूले गठबन्धन गर्ने विषयलाई केन्द्रबाट निणर्य गर्न नहुने तर्क गरेका छन् । कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले माओवादीले भनेझैं कर्णालीली प्रदेशमा गठबन्धन गर्ने हो भने कर्णालीमा कांग्रेसले कुनै पनि स्थानीय तहमा जित्न नसक्ने भन्दै तालमेल गर्न नहुने बताएका छन् ।

यस्तै गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गठबन्धन गर्न नहुनेमा जोड दिएका थिए । यदी गठबन्धन गर्ने जाने हो भने नेपाली कांग्रेस कमजोर बन्दै जाने संकेत गरेका थिए । लुम्बिनीका सभापति अमरसिंह पुनले पनि गठबन्धन केन्द्रबाट गर्ने नभएर आवश्यकता अनुसार स्थानीयस्तरबाटै गर्न सकिने संकेत गरेका थिए । उनले यदी यस्तै गरी गठबन्धन गर्दै जाने हो भने नेपाली कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तै बन्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा अधिकांश वक्ताहरू तालमेल केन्द्रबाट गर्ने कि आवश्यकता अनुसार स्थानीय स्तरबाट गर्ने भन्नेमा केन्द्रित छन् । यस क्रममा वाग्मतीका सभापति इन्द्र बानिया, प्रदेश-१ का सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्ण यादव र सुदूर पश्चिमका सभापतिले पनि केन्द्रबाट तालमेलको निणर्य गर्ने कुराको विपक्षमा मत व्यक्त गरेका थिए ।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेसका अधिकांश नेताहरूले केन्द्रबाटै चुनावी तालमेलको निर्णय गर्ने कुराको विपक्षमा अभिव्यक्ति दिँदै आएका छन् ।

 

 
 
  
 

You may also like