नेपाल यूएईसँग ९९ रनले पराजित

काठमाडौं । निरन्तर कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाल आईसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिदेशीय श्रृंखलामा घरेलु टोली युनाइटेड अरब इमिरेट्स (यूएई) सँग ९९ रनले पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निणर्य गरेका थिए । त्यसपछि ब्याटिङ गरेको यूएईले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको हो । २०३ रनको लक्ष्य पाएको नेपालका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ्स खेल्न सकेनन् । नेपालले ३५.१ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो ।

जितसँगै यूएईले १८ खेलबाट २२ अंक जोडेको छ । नेपाल भने ११ खेलबाट १० अंक जोडेर छैटौँ स्थानमा छ । नेपालभन्दा तल पपुवा न्युगिनी (पीएनजी) मात्र छ । पीएनजीले १५ खेलबाट दुई अंक जोडेको छ ।

नेपालले यूएईविरुद्ध खेलेको पछिल्लो टोलीमा तीन खेलाडी परिवर्तन गरेको थियो । ओपनर आसिफ शेख, सागर ढकाल र कमलसिंह ऐरीको स्थानमा विनोद भण्डारी, विक्रम सोब र पवन सर्राफलाई मौका दिइएको थियो । तर टिममा गरिएको परिवर्तनले प्रदर्शनमा भने कुनै फरक पार्न सकेन ।

नेपालका लागि निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले बनाएको ३० रन नै सबभन्दा ठूलो स्कोर हो । आरिफ शेख र सोमपाल कामीले समान १५ रन बनाए । विनोद भण्डारी १२ रन बनाएर रन आउट भए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । यूएईका जुनैद सिद्धिकीले चार विकेट लिए । कशिफ दाउद र अहमद राजाले समान दुई विकेट लिए । बासिल हमीदले एक विकेट लिए ।

त्यसअघि यूएईका ओपनरका मुहम्मद वासीम र चिराग सुरीले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए । वासीमले ३३ रन बनाए भने सुरीले २६ रन जोडे । वृत्या अरविन्दले २४ रन बनाए । चुन्दगापोयल रिजवानले ४ रन बनाएर पवेलियन फर्किए । रोहन मुस्तफा र बासिल हमीदले पाँचौँ विकेटका लागि ४७ रनको साझेदारी गरे । हमीदले १७ रन जोडे ।

मुस्तफाले ७३ बलमा ६० रन बनाए । उनले दुई चौका र एक छक्का प्रहार गरेका थिए । मुस्तफाले कशिफ दाउदसँग पनि छैटौँ विकेटका लागि २० रनको साझेदारी गरे । मुस्तफालाई नेपालका सोमपाल कामीले बोल्ड गरेका थिए । एलिसान शरफुले २१ रन बनाए ।

नेपालका कप्तान सन्दीपले तीन विकेट लिए भने सोमपाल र करण केसीले समान २ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको नाममा एक एक विकेट रह्यो । त्रिदेशीय श्रृंखलामा नेपालको यो तेस्रो खेल हो । यसअघि यूएईविरुद्धको पहिलो खेलमा नेपाल ४८ रनले पराजित भएको थियो ।

पहिलो खेलमा पनि नेपालले टस हारेर पहिले बलिङ गरेको थियो । पहिलो खेलमा नेपालले १६९ रनको लक्ष्य पाएको थियो । नेपालले १२० रन मात्र बनाउन सकेको थियो । अघिल्लो खेलमा यूएई पीएनजीसँग ६ विकेटले पराजित भएको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपालले पीएनजीलाई दुई विकेटले हराएको थियो ।

 
 
  
 

You may also like