गिरिजाप्रसाद कोइरालाको १२ औ स्मृति दिवस आज

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२औं स्मृति दिवस आज मनाइँदैछ ।

राणाशासनकै बेला विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिमा होमिएका कोइराला पाँच पटकसम्म प्रधानमन्त्री बनेका थिए । २०५३ सालमा नेपाली कांग्रेसको सभापतिमा चुनिएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहेका थिए ।

२०६२/६३ को जनआन्दोलन मार्फत संसद् पुनःस्थापना गराउन, बृहत् शान्ति सम्झौतामार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधान सभाको निर्वाचनमार्फत् सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाले अगुवाइ गरेका थिए ।
२०६३ साल जेठ ४ गतेको प्रतिनिधि सभा घोषणापछि कोइरालाले अन्तरिम राष्ट्र प्रमुखको भूमिका समेत निर्वाह गरेका थिए ।

कोइरालालाई शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियाका सूत्रधार मानिन्छ । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपालबाट २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भइ नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो । कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो ।

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले विविध कार्यक्रम गरी कोइरालाको १२ औं स्मृति दिवस मनाउँदै छन् ।

 
 
  
 

You may also like