रुसको आक्रमण पोल्यान्डसम्म फैलन सक्छ ?

किभ । युक्रेनमा जारी रुसी हमला आफ्नो सिमाना छेवैमा आइपुगेपछि यतिबेला छिमेकी पोल्यान्ड सास रोकेर बसिरहेको छ ।
आफ्नो देशमा दिनदिनै भित्रिरहेका लाखौं शरणार्थीलाई लिएर पहिले नै संवेदनशील अवस्थामा रहेको पोल्यान्ड, सीमानामा रहेको युक्रेनी सैन्य बेसमाथिको हमला पश्चात् झन तर्सिएको छ ।

विश्व युद्धपछिकै ठूलो शरणार्थी संकटमा पहिलो ‘रेस्पोन्डर’ को भूमिका निर्वाह गरिहेको पोल्यान्डमा हालसम्म १७ लाख युक्रेनीहरु भित्रिसकेका छन् । कति त्यहाँबाट अन्तै गइरहेका छन् भने कति चाहिँ पारिवारिक सम्बन्ध लगायत विभिन्न कारणवश् पोल्यान्डमै रहने निणर्य गरिरहेका छन् । नतिजा स्वरुप पछिल्लो दुई हप्तामै पोल्यान्डको राजधानी वारशको जनसंख्या १५ प्रतिशतले बढ्यो ।

यता शरणार्थीहरुको मद्दत गरिरहँदै चेतावनीको घण्टी पनि बजिरहेको छ । केही समय अगाडि मात्र रुसले पोलिस बोर्डरबाट केबल १६ किलोमिटरको दुरीमा रहेको युक्रेनी सैन्य बेसमा बमबारी गरेको थियो । लामो समयदेखि नै पोल्यान्डले पश्चिमलाई युरोपको शक्ति सन्तुलनलाई आफ्नो पक्षमा पुनः स्थापित गर्ने रुसको योजनाबारे चेतावनी दिँदै आएको थियो । पोलिस नेताहरुलाई त्यसबेला सबैले नजरअन्दाज गरे तर अहिले अवस्था फेरिसकेको छ ।

सोमबार मात्र पोलिस प्रधानमन्त्री मेटुएज मोरावेइकीले युक्रेनी सेनालाई पश्चिमी सहयोगको एकदम आवश्यकता रहेको र उनीहरु सहयोगको बराबर हकदार पनि भएको बताएका छन् । उनीहरु आफ्नो लागि मात्र नभएर पूर्वी युरोपियन छिमेकीहरुको स्वतन्त्रताका लागि पनि लडिरहेको उनको भनाइ छ ।

पश्चिमसँग पोल्यान्डको त्यो महत्वपूर्ण ‘लिंक’

कुनै बेला रुससँग ‘फोबिया’ भएको देशको नाम दिएर नेटोमा समेत नजरअन्दाज गरिएको पोल्यान्ड यतिबेला पूर्वी पश्चिमसँगको सबैभन्दा महत्वपूर्ण ‘लिंक’ बन्न पुगेको छ । जस्तै पश्चिमी राष्ट्रहरुबाट युक्रेनका लागि आउने हतियार लगायत सबै किसिमको सहयोग पोल्यान्ड हुँदै भित्रिरहेको छ जसलाई यसअघि रुसले वैधानिक सैन्य टार्गेट घोषणा गरेको थियो ।

तर के रुसले वास्तवमै पोल्यान्डमाथि हमला गर्न सक्ने प्रबल सम्भावना छ ? जुन युरोपेली युनियन र नेटोको सदस्य पनि हो । पश्चिमी संगठनले आफूहरु मध्ये कोही एकमाथि हमला गर्नु सबैसँग लडाइँ गरे बराबर हुने बताउँदै आएका छन् । यसको अर्थ विश्वका दुई सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिका र रुस आमनेसामने हुनेछन् जसबाट कुनैपनि हालतमा बच्ने पश्चिमको अपेक्षा छ ।

वारशका मेयर राफल रजासकोविस्कीका अनुसार यो सबै संकटका बावजुद पोल्यान्ड हतासिएको छैन । तरपनि नागरिकहरुले पोलिस सिमाको नजिकै बमबारी भइरहेकाबारे प्रश्न उठाइरहेका छन् र रुसले सम्भावित रुपमा रासायनिक हमलाको योजना बनाइरहेको खबरप्रति पनि अधिक चिन्ता जनाइएको छ । यसमा उनले शरणार्थी संकटबारे पनि तत्काल केही गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘यदि शरणार्थीको सङ्ख्या यसरी नै लगातार बढिरहने हो भने पोल्यान्डको सम्पूणर् प्रणाली भङ्ग हुनेछ ।’ त्यसैले उनले थप अन्तर्राष्ट्रिय सहयोगको अपील गरेका छन् । ब्रसेल्सले सबै युक्रेनियनहरुलाई आफ्नो भूभागमा स्वागत रहेको बताएको छ र पोल्यान्डलाई आर्थिक सहयोग दिलाउने प्रतिज्ञा पनि गरेको छ । तर सम्बन्धित निकायहरुका अनुसार यति मात्र पर्याप्त छैन । साथै युरोपियन आयोगले निश्चित तथ्यांक उल्लेख नगर्न खोजिरहेको छ ।

तर्कपूर्ण रुपमा पनि पोल्यान्डको पीडादायी विगतलाई हेरेर यसले भविष्यका बारेमा अधिक चिन्ता जनाउनु जायज मानिएको छ । युक्रेनियन शरणार्थीहरुले पोल्यान्डलाई आफ्नै युद्धका क्षणहरु याद दिलाइरहेको छ । बीबीसीबाट

 
 
  
 

You may also like