स्थानीय निर्वाचन र मिडियाको भूमिकाबारे छलफल

बुटवल । नागरिकलाई सुसुचित गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सहि सूचना प्रवाहको वातावरण मिलाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले फ्रि मिडिया नेटवर्क अन्तर्गत आईतबार आयोजना गरेको स्थानीय निर्वाचन र मिडियाको भूमिका बिषयक छलफलमा सहभागी पत्रकार सम्बद्ध व्यक्ति, जनप्रतिनिधि, प्रहरी प्रशासन तथा नागरिक समाजका व्यक्तिहरुले यस्तो कुरा बताएका हुन ।
उनीहरुले निर्वाचनमा पत्रकारहरुमाथी सुरक्षा चुनौती पनि हुनसक्ने भन्दै त्यसका लागि प्रहरी प्रशासन, मानवअधकिारकर्मी तथा नागरिक समाजको साथ सहयोगको खाँचो हुने बताए । साथै पत्रकारहरुले पनि पत्रकार आचार संहिता, निर्वाचन आचार संहिताको पालना गर्दै सहि र तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने सुझाव दिइएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले निर्वाचनलाई लक्षित गरि केन्द्रदेखि जिल्ला तहसम्म नै निर्वाचन आयोगसँग मिलेर अनुगमन संयन्त्र निर्माण गर्न लागेको बताए । उनले फ्रि मिडिया नेटवर्क मार्फत प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई संस्थागत गर्दै पत्रकारितालाई विश्वसनिय बनाउन खोजिएको बताए । उनले अब आउने स्थानीय तहको निर्वाचन लक्षित गरि पत्रकारिताले गरेका काम, नागरिक समाज, निजि क्षेत्र र जनप्रतिनिधिहरुले समेत सुझाव दिने गरि नेटवर्कलाई अगाडि बढाउन सकिने बताए ।

लुम्बिनी प्रदेशका सांसद तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले लोकतन्त्रको नाममा जे पनि गर्न छुट हुने प्रवृत्ति देखा परेकाले त्यतातर्फ सञ्चारमाध्यम र पत्रकारहरुको ध्यान पुग्नुपर्ने बताए । उनले निकट आएको स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन सुझाव दिए । अर्का सांसद रमा अर्यालले पत्रकारिताले नै सबैलाई खबरदारी गर्ने भएकाले सत्य उजागर गर्न डराउन नहुने बताईन ।

त्यस्तै अर्का सांसद दीपा विश्वकर्माले पत्रकारहरुले स्वतन्त्र रुपमा समाचार सम्प्रेषण र विश्लेषण गर्न पाउनुपर्ने बताईन । कार्यक्रममा बुटवल उपमहानगरका उपप्रमुख गोमादेवी आचार्यले सञ्चारमाध्यमले लैंगिकताको सवाललाई ध्यान दिनुपर्ने बताउँदै अब आउने निर्वाचनमा महिला उम्मेद्वारको चर्चा गर्न आग्रह गरिन ।

त्यस्तै उक्त अवसरमा यूरोपियन यूनियनका राजदूत नोना डिप्रेजले पत्रकारहरुको सुरक्षा , मिडियाबाट भएका सूचना प्रवाहका सवालमा सबै पक्षले खुलेर छलफल गर्नु सकरात्मक भएको बताईन ।रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धु्रव कुँवरले प्रशासनले निर्वाचन आचार संहिता पालना गराउने र पत्रकारहरुलाई सहज रुपमा रिर्पोटिङ गर्ने वातावरण बनाउने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईले निर्वाचनका बेला पत्रकारहरुलाई समाचार लेखेकै आधारमा असुरक्षा हुने भएकाले यस बिषयमा प्रहरी प्रशासन र राजनीतिक दलहरु सचेत हुनुपर्ने बताए । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनालले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित भए नागरिक अधिकार समेत हनन हुने भएकाले स्वतन्त्र पत्रकारिता बचाउनुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द रेग्मीले निर्वाचनका बेला रुपन्देहीमा पत्रकारहरुलाई कुनै पनि असुरक्षा हुन नदिने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, लुम्बिनीका महासचिव विक्रम खड्का, उच्च अदालत बार एसोसिएशन बुटवलका सचिव गोविन्द मरासीनी, अग्रज पत्रकार माधव नेपाल, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरिश्वर पौडेल, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनीका दीपक ठाकुर, गैरसरकारी संस्था महासंघ रुपन्देहीका अध्यक्ष रीमा बिसिले बोल्दै निर्वाचनमा विना अवरोध सूचना प्रवाह गर्ने वातावरण बनाउनका लागि आग्रह गरेका थिए ।

कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा फ्रि मिडिया नेटवर्कका संयोजक रामराज पोख्रेलको अध्यक्षता तथा सचिव विनोद परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like