नेपालमा नर्सको तलब : खाजा खर्च र बसभाडा पनि पुग्दैन

काठमाडौं । काठमाडौं चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गरिन् तर भने जस्तो काम पाइनन् ।
भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुई/तीन महिना काम गरेपछि बल्ल सात हजार रुपियाँ दियो ।

उनको बीएस्सी नर्सिङ अध्ययन गर्दा पढाइ खर्च नै १२ लाखभन्दा बढी भइसकेको थियो । पाएको तलबले खाजा खर्च र बसभाडा पनि नपुग्ने स्थिति थियो । लोकसेवाले पनि सरकारी अस्पतालका लागि विज्ञापन गरेकै थिएन । तुलसा एक वर्षको तयारीपछि बेलायत गइन् ।

जेनतेन गत वर्षमात्र प्रमाणपत्र तहमा नर्सिङ अध्ययन सकेकी सुविनाले पढाइ सकेर काम पाइनन् । जागिर नपाएपछि कुनै अस्पतालमा काम गरेको अनुभवपत्र बनाएर बिदेसिएकी उनी अहिले अस्ट्रेलियामा छिन् । सुविनाले भनिन्, ‘सुरुमा धेरै गाह्रो छ । पछि सहज होला भनेर सङ्घर्ष गरिरहेकी छु ।’

नेपालमा एक जना नर्सले पाँचदेखि १० जनासम्म आईसीयूका बिरामी हेर्नुपर्ने स्थिति छ । नर्स र बिरामीको अनुपात नमिल्दा बिरामीलाई उचित स्याहार तथा हेरचाह गर्न नसकिने हुन्छ । सुत्केरी गराउने ठाउँमा एक जना बिरामी बराबर दुई जना नर्स चाहिनु पर्नेमा त्यहाँ एक जना नर्सले धेरै जना बिरामी हेर्नुपरेको नर्सिङ महाशाखा प्रमुख गोमादेवी निरौलाको भनाइ छ । नेपालमा कति नर्स बिदेशिएका छन् भन्ने कुनै तथ्याङ्क छैन । नर्सिङ महाशाखा प्रमुख निरौलाले बिदेशिएका नर्सको कुनै तथ्याङ्क नहुने बताइन् । गोरखापत्र दैनिकबाट

 
 
  
 

You may also like