देशभर बढ्यो गर्मी, तराईमा ‘लु’ चल्न सक्ने कहाँको तापक्रम कति पुग्यो ?

काठमाडौं । अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले बताएका छन् । देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३१.३ डिग्री सेल्सियस पुगेको थियो । धरानमा सर्वाधिक ३७.२ डिग्री सेल्सियस रहेको थियो भने जनकपुरमा ३७ डिग्री सेल्सियस, घोराहीमा ३६.८ डिग्री सेल्सियस र विराटनगरमा ३६.२ डिग्री सेल्सियस रहेको थियो । अन्य क्षेत्रमा पनि तापक्रम वृद्धि भएको महाशाखाले तथ्याङ्कले देखाएको छ ।

महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । आइतबार सुदूर पश्चिम, कणर्ाली र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
तराईमा ‘लु’ चल्न सक्ने चेतावनी
गर्मी यामसँगै देशभरको तापक्रम बढेको छ । विशेषगरी तराईको तापक्रम अझ बढिरहेको छ । हरेक दिन तापक्रम बढ्दै जान थालेपछि मौसम पूर्वानुमान महाशाखाले तराईमा तातो हावा अर्थात् ‘लु’ चल्न सक्ने चेतावनी दिएको छ ।

‘भारतको राजस्थान, मध्यप्रदेश क्षेत्रमा तातो हावा चलिरहेको छ, नेपालका तराईमा तापक्रम बढ्नुमा यसको असर पनि हुन सक्ने प्रारम्भिक अनुमान छ,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले भने, ‘यसरी नै तापक्रम बढ्दै गएमा तराईमा तातो हावा चल्न सक्ने देखिन्छ ।’

शुक्रबार सबैभन्दा बढी तापक्रम धरानमा ३७.२ डिग्री र जनकपुरमा ३७ डिग्री मापन भएको छ । जनकपुरमा बिहीबार ३५ डिग्री मात्र थियो । शुक्रबार भैरहवामा ३६.८, सिमरामा ३६.५, विराटनगरमा ३६.२, धनगढीमा ३५.२ र नेपालगन्जमा ३४.६ डिग्री मापन भएको छ । बिहीबार भैरहवामा ३३.९, सिमरामा ३४.८, विराटनगरमा ३५.५, धनगढीमा ३३.२ र नेपालगन्जमा ३३.३ डिग्री मापन भएको थियो । तर, भैरहवामा तापक्रम एक दिनमै २.९ डिग्रीले बढेको छ ।

तराई मात्र होइन, पहाडी क्षेत्रमा पनि तापक्रम बढेको छ । शुक्रबार दिपायलको अधिकतम तापक्रम ३४.२ पुगेको छ । त्यस्तै, वीरेन्द्रनगरमा ३२.६, घोराहीमा ३२.८, ओखलढुंगामा २८.४ र जुम्लामा २७ डिग्री मापन भएको छ । महाशाखाका अनुसार हाल नेपालमा कुनै मौसमी प्रणाली सक्रिय छैन । केही पहाडी क्षेत्रमा स्थानीय वायुका कारण बदली हुने गरे पनि बाँकी क्षेत्रमा मौसम सफा छ ।

मौसमविद् इन्दिरा कँडेलका अनुसार पूर्वी नेपालमा तापक्रम झन् बढिरहेको छ । ‘मार्चदेखि नै अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा बढी छ । मनसुनी प्रणाली नहुँदा आकाश खुला छ । गर्मीयाममा नेपालमा पृथ्वी सतहबाट सूर्य नजिक र सीधा हुन्छ, जसले घाम तातो हुन्छ,’ उनले भनिन् ।

 
 
  
 

You may also like