गठबन्धनको भर छैन, पार्टीले आफ्नै बलबुतामा चुनाव लड्ने तयारी गर्नुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले पार्टीले आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारी गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा जारी प्रथम संघीय परिषद् बैठकमा समसामयीक राजनीति र जसपाको कार्यदिशा समेटिएको प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले गठबन्धनको भर परेर मात्रै बस्न नहुने उल्लेख गरेका छन् । उनले भने, ‘हाम्रो पार्टीको चाहना र प्रयासले मात्रै पाँच दलीय गठबन्धनलाई चुनावसम्म सँगै लान सम्भव हुँदैन । यसका अरु दलको पनि इच्छा, आवश्यकता र तत्परता हुनु पर्दछ । त्यसैले पार्टीले आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारी गर्नु पर्दछ ।’

कुनै अमुक पार्टीको मात्र प्रयासले चुनाबी गठबन्धन नहुने भन्दै बाबुरामले गठबन्धन सरकार चलाउनु र चुनावी गठबन्धन गर्नु भिन्ना भिन्नै राजनीतिक घटना भएको धारणा राखेका छन् ।

उनले भनेका छन्, ‘स्थानीय विशेषता र सम्भावना अनुसार अरु कुनै पक्षसँग चुनावी तालमेल गर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई नै दिनु पर्दछ । संघीय तथा प्रादेशिक निर्वाचनको रणनीति के कस्तो बनाउने त्यसका लागि अहिले पनि हामीसँग केही समय छ । तर, स्थानीय निर्वाचनको रणनीति भने अबिलम्ब बनाउनु पर्दछ । यस प्रयोजनका लागि बैठकमा एक भिन्नै ’स्थानीय निर्वाचन निर्देशिका’ प्रस्तुत गरिएको हो ।’

 
 
  
 

You may also like