मादी बस दुर्घटनाका घाइते भन्छन्, ‘दुर्घटनाअघि नै बसको ब्रेक फेल थियो’

संखुवासभा । संखुवासभाको मादी नगरपलिकामा विहीबार भएको बा ४ ख ७३५ नम्बरको यात्रु बस दुर्घटनाका घाइतेले दुर्घटनाअघि नै बसको ब्रेक फेल भएको जानकारी दिएका छन् । मादी नगरपालिका-६ का ५० वर्षिय डम्बरबहादुर कार्कीले बस दुर्घटना अगाडि नै ब्रेक फेल भएको बताएका छन् ।

घाइते भएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत रहेका कार्कीले शुरुमा हवाईजहाज कराए जस्तो आवाज आएको बताए । गुडिरहेको गाडीको आवाज परिबर्तन भएपश्चात मैले बसका चालक विपिन निरौलालाई गाडी रोक्न अनुरोध गरे तर चालकले बसलाई नियन्त्रणमा लिन नसकेको कार्कीले जानकारी दिए ।

बसलाई चालकले नियन्त्रणमा लिन नसकेपछि बसका सबै यात्रुहरु चिच्याउन थाले त्यहिं बीचमा आफू मरिने हो कि भनेर बसको झ्यालबाट भाग्न खोज्दै गर्दा बस एक्कासी भीरबाट झरेको उनले सुनाए । उनले बस दुर्घटना हुने भएपछि आफूले बसको सिसा फुटाएर भाग्न खोजेको पनि बताएका छन् । गुडरहेको बसबाट हामफाल्न नसकेपछि अगाडि (दोस्रो लाइनको) सिट पक्रेर बसेपछि बीचमै उछिट्टिएर आफू बच्न सफल भएको उनले बताए ।

कालोपत्रे भएको बाटोमा गाडी कुदाउन सहजै भए पनि बस डेढ किलोमिटर माथिदेखि नै अनियन्त्रित भएको उनको भनाई छ । गम्भिर घाइते भएर उपचारका लागि प्रतिष्ठान भर्ना भएकी मादी-५ की ३० वर्षीया युका पोखरेलको उपचारका क्रममा मृत्यु भएको छ । कार्कीसँगै घाइते भएका मादी-४ का १९ वर्षिय करिश्मा तामाङ, २४ वर्षिय शुवास तामाङ र मादी-६ का २४ वर्षीय तुससा कटुवालको बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।

चारै जनाको टाउको, अनुहार र शरीरका विभिन्न भागमा गम्भिर चोट लागे पनि सबैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रतिष्ठानका सहायक निर्देशक डाक्टर विकास साहले बताएका छन् । घाइतेको उपचारका लागि मादी नगरपालिकाका मेयर विदुर लिङ्थेप हेलिकप्टरमा घाइतेसँगै धरान आएका छन् । उनले पक्की मोटरबाटोमा भएको बस दुर्घटनाबाट सिंगो मादी नगरपालिका शोकमा डुबेको बताए । उनले दुर्घटना पश्चात बस सडकबाट ७० मिटर तल झरेको बताए ।
गाडी मालिक चालक
दुर्घटना भएको बसका चालक सुनसरीको इटहरी उपमहानगरपालिका-२० घर भएका विपिन निरौला बस सञ्चालक भएको खुलेको छ । दुर्घटनामा परेको बस चालक निरौलाले तीनवटा यात्रु बस सञ्चालन गरी धरान, इटहरी, विराटनगर दमकबाट प्रदेश-१ का पहाडी जिल्लाहरुमा यातायात सेवा प्रदान गर्दै आएका थिए ।

बैंकबाट ऋण लिएर यात्रु बस सञ्चालन गरेका निरौलाले प्रदेश-१ मा यातायात व्यबसायीहरुको सिण्डिकेटविरुद्ध लडेर संखुवासभाको खाँदबारी नगरपालिकाबाट पहिलोपटक रात्रि बस सञ्चालन गरेको उनका मामा देबेन्द्र कार्कीले जानकारी दिए ।

 
 
  
 

You may also like