कृषि मेला–२०७८ ः तयारी तिब्र

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सञ्चालन गर्न लागेको विशिष्टिकृत ‘कृषि मेला २०७८’ को तयारीको काम तिब्र पारिएको छ । मेला सञ्चालनको मिति नजिकिँदै गर्दा संघले तयारीको कामलाई तिब्र रुपमा अगाडि बढाएको हो ।

बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजना तथा लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालय, बुटवल उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्र र पशुपक्षी तथा मत्य विकास निर्देशनालयको प्रवद्र्धनमा यहि चैतको १० देखि १४ गतेसम्म संघको सचिवालय परिषर बालमन्दिर बुटवलमा कृषि मेला गर्न लागिएको हो ।

संघले छोटो समयमा कृषि मेला गर्न लागेकोले पनि त्यसको तयारी तिब्र गतिमा गर्नु परेको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताउनु भयो । ‘बजारमुखि कृषिको आधार, समुन्न्त नेपालको पूर्वाधार’ भन्ने नारा सहित सञ्चालन गर्न लागिएको कृषि मेलामा व्यवसायिक कृषि तथा त्यसको लागि कृषिमा प्रविधि र उपकरणको प्रयोगलाई जोड दिईएको छ ।

सञ्चालन गर्न लागिएको मेला सम्पन्न गर्नको लागि कार्यसम्पादन समिति र विभिन्न उपसमितिहरुले जिम्मेवारीमा रहेका कामलाई तिब्र रुपमा अगाडि बढाएको संघको कार्यसमिति सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक जमुना पौडेलले बताउनु भयो । उहाँका अनुसार ती समितिहरु मेलालाई फलदायी रुपमा सम्पन्न गर्नको लागि पत्राचार, मूल व्यवस्थापन, आर्थिक व्यवस्थापन, प्रचारप्रसार, समन्वय, स्टल बुकिङ् तथा व्यवस्थापन, सौजन्य लगायतको काम भईरहेको छ ।

पाँच दिनसम्म सञ्चालन गरिने मेलामा ४५ स्टल राखिने छ । मेलामा कृषि तथा पशुपालन सम्बन्धि विशिष्ट उत्पादनको प्रदर्शनी तथा कृषि सम्बन्धि कार्यशाला गोष्ठि समेत गरिने संघका महासचिव तथा मेला सम्पादन समितिका सदस्य सचिव बिमलराज भट्टराईले बताउनु भयो ।

 
 
  
 

You may also like