स्थानीय तह निर्वाचन : लुम्बिनी प्रदेशमा काँग्रेसले बनायो टिकट वितरणको मापदण्ड

बुटवल । सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले उम्मेदवार छनौटको लागि मापदण्ड बनाएको छ । सरकारले आगामी बैशाख ३० गते स्थानीय चुनावको मिति तय गरेको छ ।
नेपाली काँग्रेस प्रदेश समितिको बुधबार बसेको कार्यसमिति बैठकले स्थानीय आवश्यकताको आधारमा एकल वा अन्य राजनीतिक दलसंग सहकार्य गर्नेगरी उम्मेद्वार छनौटको लागि मापदण्ड बनाएको हो । प्रदेश समितिले गरेका निर्णय सार्वजनिक गर्नको लागि बिहिबार बिहान प्रदेश पार्टी कार्यालय बुटवल तामनगरमा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सभापति अमरसिंह पुनले सिंगलसिंगल भए प्रदेशमा काँग्रेसले बहुमत ल्याउने र अधिकतम धेरै उम्मेदवारलाई जिताउनको लागि स्थानीय आवश्यकता अनुसार अन्य दलसंग तालमेल गर्नेगरी प्रदेश समितिले रणनीति अख्तियार गरेको बताउनु भएको हो । अन्यदलसंग गठबन्धन गर्ने÷नगर्ने अधिकार स्थानीय समितिलाई रहने र स्थानीय समितिले सत्ता गठबन्धन बाहिरका अन्य दलसंग पनि सहकार्य गर्न सक्ने उहाँले जानकारी गराउनु भयो ।
त्यस्तैगरी स्थानीय तहको निर्वाचनमा निश्चित बिधि र मापदण्डका आधारमा टिकट वितरण गर्ने पनि बैठकले निर्णय गरेको छ । पार्टीमा गरेको योगदान, जनाधारको मुल्यांकन, कार्यक्षमता तथा कार्यकुशलता, दक्षता सहितको समावेशीतालाई प्राथमिकता, क्रियाशिलता, निरन्तरता, निष्ठा र त्याग, प्रतिस्पर्धाको समेत मुल्यांकन गरिने सभापति पुनले बताउनु भयो । त्यस्तै प्रतिस्पर्धी पार्टीले कस्तो व्यक्तिलाई उम्मेदवार बनाउँछ भन्ने कुरालाई समेत अध्ययन गर्ने र अवसरहरुको उचित र न्यायिक वितरण गर्नेगरी पार्टीले उम्मेदवार बनाउने उहाँले बताउनु भयो ।
सभापति पुनले पार्टीका नेता कार्यकर्तालाई टिकट खोज्दै नेताको पछि लाग्न भन्दा मतदातासंग जान आग्रह गर्नुभयो । पत्रकारहरुको जिज्ञाशामा उहाँले केन्द्रले गर्ने निर्णय प्रदेशलाई बाध्यकारी नभएको र केन्द्रलाई समेत चित्त बुझाएर स्थानीय परिवेशलाई हेरेर फरक फरक दलसंग चुनावी गठबन्धन गरिने बताउनु भयो । अहिले काँग्रेसका उम्मेदवारलाई हार्ने छुट नभएको बताउँदै उहाँले चुनाव जित्नेगरी प्रचारमा लाग्न पनि आग्रह गर्नुभयो ।

 
 
  
 

You may also like