एमसीसीलाई सार्वभौमिकतासँग जोड्न मिल्दैन : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अमेरिकी सहयोग परियोजना एमसीसीलाई मुलुकको सार्वभौमिकतासँग जोड्न नमिल्ने बताएकी छन् ।

विश्वका धेरै देशले सो सम्झौता स्वीकार गरेको भन्दै उनले ती देशले कुरा नबुझी एमसीसी स्वीकार गरेका हुन् त भनी प्रश्न गरिन् ।नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले विश्वका आधा दुनिँयामा एमसीसी लागू भएको तर नेपालमा सार्वभौमिकताको कुरा उठाएर चिन्ता लिनु आवश्यक नभएको बताइन् ।

‘एमसीसी सरकारले स्वीकार गरेर ल्याएको अनुदान हो, सहायता हो । यसलाई संसदमा डिबेट गरेर पास गरियो । अब हामीले गफ गरेजस्तै एमसीसी स्वीकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ?’ मन्त्री झाँक्रीले भनिन् ।

उनले अघि भनिन्, ‘त्यो हो भने त हामी भन्दा अर्को आधा दुनियाँमा त हुन्छ (एमसीसी स्वीकार गर्न हुन्छ) भन्ने छ नि त । उनीहरुले के कुरा नबुझेको हो ? हामी मात्रै सोभरेन्टी (सार्वभौमसत्ता) को लागि यति साह्रै चिन्तित भएको हो त ? त्यसो त नहोला ।’

मन्त्री झाँक्रीले एमसीसी संसदमा छलफल भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि बताइन् ।

 
 
  
 

You may also like