घेराबन्दीमा अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा एकीकृत माओवादी केन्द्रभित्र पदाधिकारी चयनको प्रक्रिया कठिन बन्न पुगेको छ । महाधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दासमेत माओवादीले पदाधिकारी चयनमा सहमति जुटाउन नसकेको हो ।

पदाधिकारी चयन गर्ने जिम्मेवारी पाएको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्न असफल देखिएको छ । महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष बनाउने निर्णय गरे पनि पदाधिकारी चयनको प्रक्रिया धकेलिँदै आएको छ । १५ सदस्सीय पदाधिकारीमा अध्यक्ष प्रचण्ड मात्र चुनिएका छन् । बाँकी पदाधिकारी चयनमा आकांक्षीको संख्या धेरै भएपछि प्रचण्ड दबाबमा पर्दै आएका छन् ।

महासचिव पदका लागि नेताहरूको अस्वस्थ दबाबपछि प्रचण्डले केन्द्रीय कमिटी बैठकबाट पनि पदाधिकारी चयनको प्रक्रिया थप लम्बिएको छ । पार्टी सञ्चालनका लागि महत्वपूर्ण मानिएको पदाधिकारी चयनको नै माओवादीभित्र विवाद रहेको छ । पार्टीभित्र प्रभावशाली नेताहरूको दबाबको कारण प्रचण्डले पदाधिकारी चयनको विषयमा निर्णय लिन सकेका छैनन् । अध्यक्षबाहेक उपाध्यक्ष, महासचिव, सचिवलगायतका बाँकी १४ पदाधिकारी चयन गर्न बाँकी छ ।

शुक्रबारबाट शुरू भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा केन्द्रीय पदाधिकारी चयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने कार्यसूची रहे पनि अध्यक्ष प्रचण्डले अन्तिम समयमा आएको पदाधिकारी चयनको विषयलाई थाती राख्ने निर्णय लिए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

 
 
  
 

You may also like