रूसी हमलामा युक्रेनी विमानस्थलमा क्षति : जेलेन्स्की

किभ । रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनले भने, ‘भिनिट्सियामा भएको क्षेप्यास्त्र आठ वटा रकेट आक्रमण गरिएको र आक्रमणपछि विमानस्थल पूर्णरूपमा ध्वस्त भएको छ ।’

रुसले आक्रमण शुरु गरेदेखि युक्रेनका थुप्रै शहर तथा हवाई अड्डाहरूमा बम विस्फोट, गोलाबारी वा ब्यालेस्टिक मिसाइलहरू प्रहार गरिएका छन् । भिनिट्सिया मध्य युक्रेनको पश्चिमी क्षेत्रमा छ । यो रुस र बेलारूसको सीमानाभन्दा धेरै टाढा छ । यस क्षेत्रमा त्यस्तो हमला कम भएको छ ।

विमानस्थलमा भएको आक्रमणपछि जेलेन्स्कीले रूसी आक्रमण रोक्न पश्चिमी शक्तिहरूले युक्रेनमाथि उडान विरोधी क्षेत्र लागू गर्नुपर्ने आफ्नो मागलाई पुनः दोहोर्‍याएका छन् ।

‘हामी हरेक दिन यो माग दोहोर्‍याइरहेका छौं । युक्रेनी आकाशलाई सहयोगी मुलुकहरूले उडान प्रतिबन्धको घोषणा गरून् । आकाशलाई सबै रूसी क्षेप्यास्त्र, रूसी युद्ध विमान र युक्रेनी पृथकतावादीहरूका लागि बन्द गरियोस् ।’ उनले यूक्रेनी आकाशलाई उडान निषेधित क्षेत्र घोषणा नगर्दा दैनिक दर्जनौं युक्रेनी नागरिकले ज्यान गुमाउनु परेको बताएका छन् ।

 
 
  
 

You may also like