यातायात व्यवस्था कार्यालयमा मन्त्री ढेंगाको छड्के अनुगमन ,लाइसेन्स लिने सेवाग्राहीको गुनासै–गुनासो

बुटवल। श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुरमति ढेंगा मगरले बुटवल दीपनगरस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रको छड्के अनुगमन गरेकी छन् । आइतबार भएको छड्के अनुगमनमा सेवाग्राहीले मन्त्री समक्ष गुनासै गुनासा गरेका थिए ।

सेवाग्राहीहरुले कार्यालयबाट हुने काम व्यवस्थित नभएको, फोटो खिच्नका लागि मात्रै घण्टौं लाइन बस्नुपरेको लगायतका गुनासो गर्दै सेवालाई छिटो छरितो बनाइदिन मन्त्रीसमक्ष अनुरोध गरेका थिए । कार्यालयमा टोकन प्रणाली नहुंदा लाइन भद्रगोल भएको,पहुंचवाला व्यक्तिले लाइन मिचेर छिटो सेवा लिने गरेको र कर्मचारीहरुले सेवाग्राहीका समस्याप्रति बेवास्ता गरेको भन्दै सेवा सुधार गरेर जनतालाई परिवर्तनको अनुभूति गराउन माग गरेका थिए । प्युठानको ऐरावती गाउंपालिका–६ बाट आएका राममणि पाण्डेले आफू तीन दिनदेखि बुटवलमा बसेर कार्यालय धाउंदा पनि काम नबनेको गुनासो गरे ।

भैरहवाका कृष्ण काफ्लेले टोकन सिस्टम नहुंदा कार्यालयमा सधैं भीड हुने र सेवाग्राहीले दुख पाएको गुनासो गरे । यस्तै देवदहका प्रविन खनाल,पाल्पा रामपुरका वृहस्पति अर्याल लगायतले व्यवस्था परिर्वतन भएपनि सरकारी कार्यालयको सेवा प्रवाह पञ्चायती शैलीको भएको गुनासो गरे ।
सेवाग्राहीको गुनासो सुनेपछि मन्त्री ढंगाले कार्यालयका कर्मचारीलाई सेवा प्रवाह छिटो छरितो बनाई जनतालाई सहज सेवा दिन निर्देशन दिएकी छन् ।

उनले फाटो खिच्ने कर्मचारी थपेर काम छिटो हुने व्यवस्था मिलाउन निर्देशन दिंदै कुनै पनि बिचौलिया गतिविधि आफूलाई स्वीकार्य नभएको भन्दै त्यस्तो पाइएमा तत्काल कारवाही गर्ने बताइन् । सेवाग्राहीको सबैभन्दा धेरै गुनासो आउने यातायात व्यवस्था कार्यालयको सेवालाई जनमैत्री बनाउन मन्त्री ढेंगाले अनुगमनलाई निरन्तरता दिंदै आएकी छन् ।

 
 
  
 

You may also like