रुस-युक्रेन युद्ध : ५११ नेपाली युक्रेनबाट बाहिरिए

काठमाडौं । रुस-युक्रेन युद्धबाट ज्यान जोगाउन अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिएका छन् ।

उद्दार समितिका अनुसार हालसम्म ४०३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेका छन् । हालसम्म ५११ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन् । उद्दार गरिएकामध्ये चार जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । युक्रेनबाट निस्केकामध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ ।

‘भिडन्त बढिरहेको छ, घरभित्रै जोगिएर बस्नू’
जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेनको अवस्था निकै जटिल अवस्थामा पुगेको भन्दै त्यहाँस्थित नेपालीलाई घरभित्रै सुरक्षित भएर बस्न सचेत गराएको छ ।

युक्रेन समेत हेर्ने जिम्मा पाएको दूतावासले बिहीबार सांझ एक सूचना जारी गरेर यस्तो भनेको हो । ‘युक्रेनको अवस्था निकै जटिल छ । राजधानी शहर र अन्य केही क्षेत्रमा ठूला भिडन्त भइरहेका खबर आइरहेका छन्’, दूतावासले भनेको छ, ‘तपाईको सुरक्षा र सहज रुपमा कम जोखिमयुक्त दक्षिणी क्षेत्रमा लैजानु हाम्रो पहिलो प्राथमिकता हो । त्यसैले युक्रेनका सबै नेपालीलाई संयम र सचेत रहेर बस्न आग्रह गर्दछौं ।’

दूतावासले सूचनामा नेपालीहरुलाई सकेसम्म घरभित्रै बस्न र कर्फ्यु हटेको भए सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरेको छ । युक्रेनमा रहेका नेपालीलाई राजधानी किभ, खरकिभ र अन्य भागमा रहेका भारतीय समुदाय वा भारतीय साथीसँग सम्पर्कमा रहेर उनीहरुको साथ लागेर पश्चिम वा दक्षिणतिर जान आग्रह गरेको छ । दूतावासले भारतले जारी राखेको उद्वार कार्यक्रममार्फत घर फर्किन नेपाली नागरिकलाई भनेको हो ।

रुसी आक्रमण बढिरहँदा संकटग्रस्त युक्रेनबाट नेपाली नागरिकलाई उद्धार गरिदिन नेपाल सरकारले भारत सरकारसँग आग्रह गरिसकेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले त्यहाँस्थित विदेश मन्त्रालयलाई भारतीय नागरिकसँगै नेपालीलाई पनि उद्धार गरिदिन अनुरोध गरेको थियो ।

 
 
  
 

You may also like