फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल १५० रुपैयाँ पुग्यो, डिजेल-मटितेल १३३ रुपैंयाँ

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको दुई हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले विहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५० रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३३ रुपैयाँ तोकिएको छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रतिसिलिन्डर ६६५ रुपैयाँ घाटा हुँदा पनि मूल्य नबढाइएको निगमले जनाएको छ । साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ ।

यसअघि निगमले फागुन ७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । यसैगरी निगमले स्थायी कर्मचारीलाई दिँदै आएको पोसाक संरक्षण भत्ता पनि स्थगित गरेको छ । निगमले मार्चमा इण्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्न अपुग हुने साढे चार अर्ब मूल्य स्थिरीकरण कोषबाट उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति

 
 
  
 

You may also like