झलनाथ खनालको प्रश्न : प्रधानमन्त्री देउवा अमेरिकी शिविरको मान्छे हो ? ‘सत्ता गठबन्धन कुनै हालतमा टुट्दैन’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी शिविरको मान्छेको संज्ञा दिएका छन् ।

आज (बुधबार) विराटनगरमा आयोजित तत्कालीन एमाले नेता भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवस तथा जेष्ठ नागरिक आधारभूत तथा प्रविधिमुलक शिक्षा कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै खनालले यस्तो बताएका हुन् ।
खनालले नेपालले युक्रेनको समर्थन गरेर अमेरिकी शिविरमा जान नहुने पनि जिकिर गरेका छन् । खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी शिविरको मान्छेको संज्ञा पनि दिएका छन् । अमेरिकाले आयोजना गरेको डेमोक्र्याटिक समिटमा प्रधानमन्त्री देउवा सहभागी भएकोमा पनि उनले असन्तुष्टि जनाए ।

‘यो डेमोक्र्याटिक समिट भनेको तथाकथित अमेरिकी एलिटहरुको हो,’ खनालले भने, ‘डेमोक्रेटिक समिटमा हाम्रो प्रधानमन्त्री किन सहभागी हुनु भएको हो ? उहाँ के अमेरिकी शिविरको मान्छे हो ? यो मेरो प्रश्न हो ।’

असंलग्न पराराष्ट्र नीति लिएको राष्ट्रका कार्यकारी प्रमुखले यस्तो गर्न नहुने उनको तर्क थियो । ‘नेपालले युक्रेनको घटनाबाट पनि पाठ सिक्नु जरुरी छ’, उनले भने, ‘भारत र चीन जस्ता मुलुक समेत तटस्थ भूमिका खेलिरहेको अहिलेको अवस्थामा नेपालले हतारमा टाढाको मुलुकबारे प्रतिक्रिया दिनु राम्रो होइन ।’

खनालले पाँच सय वर्षदेखिको पश्चिमाको दबदबा अब अन्त्य हुँदै गएको पनि बताएका छन् । ‘अमेरिका पछाडि हटिरहेको छ, कमेडियन राष्ट्रपतिलाई उचाल्यो तर, अमेरिकाले केही गर्न सक्दैन,’ खनालले भने, ‘अफगानिस्तानमा के भयो ? अमेरिका भागेको होइन, युक्रेनमा उक्साएर भागेको होइन ?’ उनले युक्रेनको कुरालाई पनि ख्याल गरेर कुटनीतिक सन्तुलन मिलाएमा मात्रै नेपाल अगाडि बढ्नसक्ने बताएका छन् ।

यस्तै खनालले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन निर्माण गरिएकाले कुनै हालतमा पनि नटुट्ने दाबी गरेका हुन् । उनले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पनि गठबन्धन आवश्यक भएको तथा समाजवादी क्रान्ति र रूपान्तरणका लागि यसलाई निरन्तरता दिनुपर्ने बताए । नेता खनालले आफ्नो पार्टीका सांसदलाई निकाल्ने कसैको तागत नभएको दाबी समेत गरे ।

 
 
  
 

You may also like