युद्धकै बीच रसियासँग वार्ता गर्न युक्रेनी प्रतिनिधिमण्डल पुग्यो बेलारुस

by समतल अनलाइन

काठमाडौं । युद्धकै बीच रसियासँग वार्ता गर्न युक्रेनको सरकारी प्रतिनिधिमण्डल बेलारुस आइपुगेको छ ।
बेलारूसको सरकारी न्युज एजेन्सी बेल्टाले जारी गरेको तस्बिरअनुसार युक्रेनी प्रतिनिधिमण्डल बेलारुसको गोमेल क्षेत्रमा आफ्ना रुसी समकक्षीसँग वार्ताको लागि सोमबार आइपुगेको हो । टोलीले यसअघि नै बेलारुस पुगेको रुसी प्रतिनिधिमण्डलसँग भेटवार्ता शुरु गरेको छ । सोमबार अपराह्नबाट वार्ता शुरु भएको न्युयोर्क टाइम्सले जनाएको छ ।

वार्ताका लागि सरकारी टोली बेलारुस पुग्दा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने सामाधान निस्किनेमा धेरै आशावादी छैनन् । रुसी सैनिक तीव्र गतिमा युक्रेनलाई नियन्त्रणमा लिन अघि बढिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले भने तत्काल युद्धविराम र सेना फिर्ताको अडान राखेका छन् ।

रुसी आक्रमणका बीच जारी वार्ताले युद्ध अन्त्य गर्ने विश्वास जेलेन्स्कीलाई छैन । रसियाले भने पश्चिमी प्रतिबन्धका कारण अर्थतन्त्रमा असर परे पनि युक्रेनले माग सम्बोधन नगरेसम्म पछि नहट्ने अडान लिएको छ । यसअघि युक्रेनले रसियाको सहयोगी मुलुक बेलारुसमा वार्ता गर्न अस्वीकार गरेको थियो । पोल्याण्डमा वार्ता गर्न प्रस्ताव गरेको थियो । तर दिनदिनै रुसी सैनिक देश नै नियन्त्रणमा लिन अघि बढेपछि युक्रेन बेलारुसमै वार्तामा बस्न तयार भएको हो । एजेन्सी

 
 
  
 

You may also like