दुईपल्ट स्थगित प्रतिनिधि सभाको बैठक आज बस्दै, अब अघि बढ्ला एमसीसी ?

by समतल अनलाइन

काठमाडौं । लगातार दुईपल्ट स्थगित गरिएको प्रतिनिधिसभाको वैठक आज (आइतबार) फेरि बस्दै छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची शनिबारै तय भइसकेको छ । संघीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यक्रममा एमसीसी समेटिएको छ ।

अमेरिकी सहायता सम्झौता एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन भनेर यसअघि दुई-दुईपल्ट बैठक बोलाइए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नीप्रसाद सापकोटाले स्थगित गरेका थिए ।

संसदमा टेबल भइसकेको एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमा सामान्य छलफल थाल्न भनेर गत बिहीबार र शुक्रबार प्रतिनिधि सभाको बैठक बोलाइए पनि सत्ता गठबन्धनकै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको असहयोगका कारण त्यसैबेला प्रस्ताव फेल हुने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले दुवै पटक बैठक स्थगन गराएका थिए ।

अहिले देउवाले संसदमा जारी अवरोध खुलाएर एमसीसी अनुमोदनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहयोग मागिरहेका छन् र वार्तालाई तीव्रता दिइरहेका छन् । शनिबार पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेपाली कांग्रेस र एमालेका दोस्रो तहका नेताबीच छलफल भएको थियो । तर सहमति हुन सकेन ।

प्रमुख प्रतिपक्षी दल एमालेका नेताहरुले पुरानै अडान दोहोर्‍याएपछि वार्ता निष्कर्षविहीन बनेको थियो । एमालेले संसद चालु गराउन माधव नेपालसहित १४ जना सांसदलाई बर्खास्त गर्नुपर्ने वा सभामुख अग्नी सापकोटाले राजीनामा गर्नुपर्ने शर्त अघि सार्दै आएका छन् ।

लगातार दुईपल्ट स्थगित भएर आज बस्न लागेको प्रतिनिधिसभा वैठकबाट अब एमसीसी अघि बढ्ला कि नबढ्ला भन्नु कुरा आम चासोको विषय बनेको छ । यो कुरा प्रतिनिधि सभाको बैठकअघि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन वा प्रमुख प्रतिपक्षी एमाले जोसँग भए पनि गर्ने सहमतिमा भर पर्ने देखिएको छ ।

 
 
  
 

You may also like