कांग्रेस-एमालेबीच आज पनि वार्ता

by समतल अनलाइन

एमाले र गठबन्धनसँग देउवा अझै सशंकित, समानान्तर छलफल जारी
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच आज (शनिबार) पनि वार्ता हुने भएको छ । शनिबार अपरान्ह दुई दलबीच वार्ता हुने तयारी छ ।

एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आएका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषयमा विमति बढेपछि देउवा ओलीसँग नजिकिएका हुन् ।
शुक्रबार साँझ पनि दुई दलबीच वार्ता भएको थियो । वार्तामा एमालेले पार्टीले राख्दै आएको माग पुरा भएपछि मात्रै अर्को प्रक्रियामा जान सकिने धारणा राखेको थियो । एमालेले सभामुख हटाउने कुरालाई बटमलाइन बनाउँदै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बचाएको एमालेको आरोप छ । सभामुख हटाउने विषयमा काँग्रेस र एमालेबीच सहमति जुटिसकेको छैन ।

बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने कांग्रेस र एमाले एक ठाउँमा रहनुपर्नेमा ओलीले जोड दिएको बताएका थिए । ‘समुन्नत लोकतन्त्रलाई अगाडि बढाउने हो भने वृहत छलफल जरुरी छ । हाम्रो भेटघाटको क्रम जारी रहन्छ,’ उनले भने ।

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाले अलिकति फराकिलो ढंगले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने संकेत गरेको बताए । कांग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव भने नआएको उनको भनाइ छ । एमालेसँगको छलफलपछि कांग्रेसले सत्ता साझेदार माओवादी केन्द्रलाई एमसीसीको पक्षमा उभिन शनिबार तीन बजेसम्मको समय दिएको कांग्रेसका एक नेताले बताए ।

प्रचण्डले भने गठबन्धन जोगाउन अझै पनि आ-आफ्नो ठाउँबाट पहल गरिनुपर्ने बताउँदै आएका छन् । उनले शुक्रबार देउवालाई भेटेर एमसीसी निणर्यार्थ पेश हुँदा पार्टीले बहिस्कार गर्ने तर पास हुने वातावरण बनाएर गठबन्धन पनि जोगाउने प्रस्ताव गरेको बताइएको छ । तर देउवा विश्वस्त हुन भने नसकेको नेताहरुको भनाइ छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दल र प्रमुख प्रतिपक्षी एमालेसँगको समानान्तर छलफललाई निरन्तरता दिइरहेका छन् । अमेरिकाले दिएको समयसीमा पर्सी १६ गते सकिने भएकाले भोलि बस्ने संसद् बैठकबाटै एमसीसी अनुमोदन गराउने उनको तयारी छ ।

एमसीसीमा सकेसम्म राष्ट्रिय सहमति नभए बहुमत मात्रै भए पनि जुटाउने कसरतमा रहेका देउवा अहिलेसम्म दुवै पक्षबाट सहयोग पाउनेमा विश्वस्त भइसकेका छैनन् । पछिल्लो पटक माओवादी केन्द्र र एकीकृत समाजवादीले मतदानको बेला संसदमा अनुपस्थित भएर एमसीसी पारित गर्न सहयोग गर्ने वचन दिएका छन् । तर पहिले पनि यस्तै वचन दिएर पछि एमसीसी फेल गराउन लागेको भन्दै प्रधानमन्त्री देउवा अझै ढुक्क हुन सकेका छैनन् ।

एमालेको माग तत्काल पूरा गर्न जटिल हुने र एमालेसँग मिल्दा जुनसुकै बेला पनि समर्थन फिर्ता लिएर ठूलो दलको हैसियतले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न सक्ने देउवालाई डर छ । त्यसैले एमालेसँग निरन्तर छलफल गरे पनि देउवा निचोडमा पुग्न सकेका छैनन् । हिजो र अस्ति लगातार छलफलमा जुटेका कांग्रेस र एमालेबीच आज पनि छलफल हुँदैछ ।

कांग्रेस र एमालेबीच लगातार बैठक हुन थालेपछि झस्किएका माओवादी र एकीकृत समाजवादी पुरानो अडानबाट केही लचिलो भएका छन् । कांग्रेससँगको गठबन्धन टुटेमा आउँदो चुनावमा समेत असर पर्ने भएपछि दुवै दललले मध्यमार्गी विकल्पमा एमसीसी टुङ्ग्याउने र गठबन्धन जोगाउन प्रयास गर्ने निणर्य गरेका छन् । संसद् बैठकमा अनुपस्थित भएर एमसीसी पास गर्न सहयोग गर्ने दुवै दलले बताएका छन् ।

 

 
 
  
 

You may also like