गृहमन्त्रीको चेतावनी : सरकारमै बसेर हिंसात्मक आन्दोलन गरे प्रहरी चुप बस्दैन

by समतल अनलाइन

काठमाडौ । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीविरुद्धको आन्दोलनमा संयम हुन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरेका छन् । उनले आज (बिहीबार) सत्ता गठबन्धनमा आबद्ध दलका विद्यार्थी नेताहरुलाई टेलिफोन गरी संयमतापूर्वक आन्दोलन गर्न आग्रह गरेका हुन् ।

एमसीसीविरुद्ध नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएको नेकपा एकीकृत समाजवादीका निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीका अनुसार गृहमन्त्री खाँणले आन्दोलनमा संयमित हुन र कतै पनि क्षति नपुगोस् भनेर सजग रहन भनेका थिए । आफूले एमसीसीलाई रोक्ने तर्फ सरकारले भूमिका खेलोस् भनेर भनेको पराजुलीले बताएका छन् ।

‘तपाईहरूलाई शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार छ । तर सरकारमा बसेर सरकारकै मान्छेहरुले आन्दोलन गरेर हिंसात्मक बन्दाखेरी हामीलाई पनि गाह्रो हुन्छ’, गृहमन्त्री खाँणले भने, ‘तपाईहरूको नेतृत्वको निर्देशन के छ मलाई थाहा छैन । तर आफै आक्रोशित भएर जाने, प्रहरीलाई ढुंगामुढा गरेर आन्दोलन हिंसात्मक भयो भने जवाफदेही को हुन्छ ? सरकार त तपाईहरूको पनि हो । साझा सरकारको उत्तरदायित्व भित्र शान्ति सुरक्षा कायम गर्नु पनि हो । त्यसमा तपाईहरुको पनि भूमिका हुन्छ ।’

उनले आफूहरुले आन्दोलन नै नगर्नु नभन्ने बताउँदै तर सरकारलाई असर गरेमा चुप नबस्ने बताएका छन् ।
यही फागुन ५ गते भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीतर्फ धेरै घाइते भएका थिए । नयाँबानेश्वर क्षेत्रका पसल, फुटपाथ र सडकको बीच भागमा बनाइएको हरियाली क्षेत्रमा समेत क्षति पुगेको थियो ।

 
 
  
 

You may also like