एमसीसीमा धेरै बोलेरै बिग्रियो : माधव नेपाल

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसीबारे धेरै बोलिएर बिग्रिएको बताएका छन् ।
आज (बिहीबार) सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठसँगको छलफलपछि अध्यक्ष नेपालले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै भने, ‘एमसीसीबारे खे के बोल्नु, धेरै बोलिएर बिग्रिएको छ ।’

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताका विषयमा के निणर्य भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष नेपालले भने, ‘धेरै बोलेर पनि बिग्रिएको छ ।’ एमसीसीका विषयमा सत्तारूढ गठबन्धनभित्र विवाद देखिएको छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) एमसीसी सम्झौता संसद्बाट पारित गर्नुपर्ने पक्षमा उभिएका छन् । माओवादीले यसको विपक्षमा मतदान गर्ने निणर्य गरिसकेको छ । राष्ट्रिय जनमोर्चाले सडक प्रदर्शन गर्दै आएको छ ।

एकीकृत समाजवादीले भने अझै कुनै निणर्य गरेको छैन । एकीकृत समाजवादीका भ्रातृ संगठनले यसको विरोध गर्दै आएका छन् । एमसीसी सम्झौताको विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बस्न लागेको छ । त्यसअघि नेपाल, दाहाल र श्रेष्ठबीच छलफल भएको हो । तीन दलबीच भएको छलफलका विषयमा अध्यक्ष नेपालले धेरै बोल्न चाहेनन् । उनले पाँच दलको बैठकबाट टुङ्गो लाग्ने बताए ।

 
 
  
 

You may also like