ओलीसँग भीम रावलको माग : एमसीसीबारे अब एमाले बोल्नै पर्छ

by समतल अनलाइन

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहायता परियोजना एमसीसीबारे अब पार्टीले बोल्न ढिला गर्न नहुने बताएका छन् ।
सोमबार काठमाडौंमा बसेको एमाले संसदीय दलको बैठकमा आफ्ना लिखित भनाइ राख्दै रावलले यस्तो सुझाव दिएका हुन् ।

‘नेपाल सरकार र अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का बीच भएको मूल सम्झौता (कम्प्याक्ट ) र त्यसको आधारमा गरिएका एक दर्जन सम्झौता एवम् कार्ययोजनाका कैयौं प्रावधानहरू, नेपालको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान, हित तथा नेपालको विधान र कानून विपरीत रहेको तथ्य स्पष्ट भइसकेको छ’, उनले भनेका छन्, ’यो विषय आम नेपाली जनताको गम्भीर चासो र सरोकारको बनिसकेकाले नेकपा (एमाले) जस्तो राजनीतिक दलले राष्ट्रिय स्वाधीनता एवं हितको पक्षपोषण गर्दै सकारका स्पष्ट धारणा सार्वजनिक गर्नुपर्छ ।’

उनले यसका लागि संसदीय दलमा कार्यसूची निर्धारण गरी छलफल गर्न पनि माग गरेका छन् । यस्तै यो बैठकमा रावलले महाअभियोगबाट निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोक्न नहुने पनि मत राखेका छन् ।

‘महाअभियोग लागिसकेका जबरलाई अब एमालेले बोक्नु हुन्न । एमसीसीसँगको सम्झौता अनुमोदन गरिनु हुन्न भन्ने जोरदार आवाज उठाएँ’, उनले भने, ‘मैले एमसीसी सम्झौताबारे दलमा गम्भीर छलफलको माग गरी अध्यक्षसमक्ष यस्तो माग लिखित रुपमा राखेको छु ।’

हेर्नुस् रावलको लिखित माग

 
 
  
 

You may also like