विदेश बसेर अनुशासन नसिकेका एनआरएनए ‘प्रतिनिधि’

by समतल अनलाइन

काठमाडौ । आहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधि काठमाडौँ,आ भेला भएका छन् । नवौं महाधिवेशनको सन्दर्भमा विश्वभरबाट काठमाडौँ जम्मा भएका एनआरएनएका प्रतिनिधिहरुको व्यबहार अहिले चर्चामा रहेको छ ।

विमानस्थलमा तोडफोडदेखि हायात होटलमा गरिएको तोडफोड र नाराबाजीले अहिले यस्तो एनआरएनएको औचित्य छ र ? भन्दै बहस चलिरहेको छ । विदेशमा रहेर विदेशका राम्रा कुरा सिकेर आफ्नो देशमा त्यसको अनुकरण गर्छन् भन्ने आम मानिसको आशा विपरित एनआरएनएको महाधिवेशन गुट-उपगुटको लडाईले कुनै क्याम्पसको चुनावको झल्को दिएको छ ।

नेपाल छोडेर विदेसिएका नेपालीहरुले विदेशको राम्रा कुरा सिकेर त्यसको उदाहरण यँहा प्रस्तुत गर्न नसक्नुले एनआरएनए बदनाम मात्र भएको छैन यसको औचित्य माथि नै प्रश्न उठेको छ ।

के के घटना भए ?

सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि रमेश थापासहितका प्रतिनिधिले विमानस्थलमा गरेको तमासाले विमानस्थल कार्यालयले विज्ञप्ति नै जारी गरेर जानकारी दिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा पूरा गर्नुपर्ने प्रक्रियाका लागि उनीहरु लाइनमा बसेका थिए । अष्ट्रेलियाको नागरिक बनिसकेका उनीहरु नेपालको भिसा लिएर आएको र एनआरएनको कुनै परिचयपत्र नभएकाले विदेशीहरुसँगै लाइनमा उभिनुपरेको थियो । तर, लामो लाइनमा बस्नु परेको भन्दै उनीहरुले विमानस्थलभित्रै लफडा गरेका थिए ।

ढिला भएको भन्दै उनीहरुले विमानस्थलका कर्मचारीसँग झगडा मात्र गरेनन् डेस्कको सीसासमेत फुटाएपछि अध्ययागमनले नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई अध्यागमनले कारबाही गर्यो र ५० हजार रुपैयाँ धरौटी लिएर छोड्यो ।

त्यस्तै अर्को घटना एनआरएनको सचिवालयको भवनमा आयोजित पत्रकार सम्मेलनमा पनि देखियो । पत्रकार सम्मेलन अति अव्यवस्थित र भद्रगोल हुदा वातावरण अस्तव्यस्त बनेको थियो ।

यँहासम्म कि पत्रकार सम्मेलनमा अध्ययक्षसहितका बहुमत पदाधिकारी अनुपस्थित थिए भने पत्रकारको कुर्सी एनआरएन प्रतिनिधिहरुले ओगटेर पत्रकार भन्दा अगाडी प्रतिनिधिले नै प्रश्न गरिरहेका थिए ।

पत्रकार सम्मेलन सकिएपछि आएका अध्यक्ष भवन भट्टले फेरी पत्रकार सम्मेलन गरेका थिए ।

अव्यवस्थापनको सिलसिला यहाँ रोकिएन मंगलबार विश्व सम्मेलनको उद्घाटन कार्यक्रममा पनि देखियो । उद्घाटन समारोहमा मिडियालाई बेवास्ता नै गरियो । रिपोर्टिङका लागि पुगेका धेरै पत्रकारहरु सम्मेलनमा स्थलमा प्रवेश गर्न पाएनन् । सम्मेलन उद्घाटन सत्र चलिरहदा उम्मेदवारहरु भने भोट माग्नमै व्यस्त थिए ।

यति मात्र होइन बुधबार भोटिंग मेशिनमा समस्या आएर निर्वाचन स्थगित भएपछि फेरी लफडा भयो । सम्मेलनस्थल हायात होटलमा दुई पक्षका प्रतिनिधिहरु नाराबाजीमा उत्रिए र केहीले कुर्सी भाचे ।

यी बाहेक प्रतिष्पर्धी उम्मेदवारलाई मनाउन मोलमोलाई भएका र ठुलो रकमको चलखेल भएका समाचार आएका छन् । विश्वभरबाट आएका प्रतिनिधिको हवाई भाडादेखि नेपाल बसाईको खर्च समेत उम्मेदवारहरुले बेहोरेको चर्चा स्वयं प्रतिनिधिहरुले नै गरिरहेका छन् ।

अहिले सामाजिक संजालदेखि धेरै जसो मिडियामा एनआरएनएका प्रतिनिधिहरुको व्यबहार र चर्तिकला चर्चामा रहेको छ । लामो समय विदेश बसेर पैसा त कमाए तर नेपालमै रहेकाहरुको जति पनि संस्कार र अनुशासन सिक्न सकेनन् भन्दै उनीहरुको आलोचना भएको छ ।

विदेशमा हुने निर्वाचन र सौहार्दपूर्ण वातावारण सिक्न नसकेका एनआरएनएका प्रतिनिधिहरुले देशमा ठुलो लगानी ल्याएर देश बनाउलान भन्ने आशा गर्नु बेकार भएको टिप्पणी धेरैले गरेका छन् । कम्तिमा विदेशमा सिकेका न्युनतम कुरा मात्र यस्ता सम्मेलनमा देखाउन सकेको भए नेपालीहरुकै इज्जत बढ्ने थियो तर उनीहरुको हरेक पटकका यस्ता सम्मेलनमा देखिने व्यबहारले सम्पूर्ण नेपालीकै बेइज्जत भएको छ ।

 

 
 
  
 

You may also like