सुत्केरी भत्ताको प्रभाव : अस्पताल गएर प्रसूति गराउने बढ्दै

by समतल अनलाइन

तुलसीपुर, १ कात्तिक ।दाङको तुलसीपुर उपमहानगरपालिकाले शुरु गरेको सुत्केरी भत्ताले प्रसूति गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।

तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार उपमहानगरपालिकाले बनाएको मापदण्डअनुसार गर्भवती भएदेखि स्वास्थ्य संस्थामा गएर गराउनुपर्ने नियमित जाँचका प्रक्रिया पूरा गरेपछि सुत्केरी भत्ता दिने गरिएको छ ।

अहिले सरकारी स्वास्थ्य संस्थाले रु एक हजार ८०० र उपमहानगरपालिकाले रु तीन हजार २०० दिने गरेको छ । उक्त भत्ता पाउनका लागि उपमहानगरले तोकेको स्वास्थ्य संस्थामा गएर गर्भवती भएको चार महीना, ६ महीना, आठ महीना र नौ महीनामा स्वास्थ्य जाँच गराएको हुनुपर्ने, आइरन चक्की खाएको हुनुपर्ने, टिटी खोप लगाएको हुनुपर्ने तथा बच्चा स्वास्थ्य संस्थामा गएर नै जन्माएको हुनुपर्ने छ ।

यस्तै बच्चा जन्मेको २४ घण्टा, तीन दिन तथा सात दिनभित्र आमा र बच्चाको स्वास्थ्य जाँच गराएको हुनुपर्ने र ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्नेछ ।

तुलसीपुर उपमहानगरपालिकाभित्रका १९ वटै वडामा प्रसूति हुनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । स्वास्थ्य संस्थामा गएर प्रसूति गराउनुपर्छ भन्ने चेतनाका कारण र समयअनुसार बसाइँसराइ पनि भइरहने हुँदा सो सङ्ख्यामा वृद्धि हुँदै गएको प्रमुख दाहालको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकामा आर्थिक वर्ष २०७५÷७६ मा मात्रै तीन हजार १७९ महिलाले उपमहानगरपालिकाभित्रका स्वास्थ्य संस्थामा गएर प्रसूति गराएका थिए । आव २०७४÷७५ मा भने दुई हजार २२१ ले प्रसूति गराएको उनले बताए ।

प्रमुख डा दाहालका अनुसार उपमहानगरभित्रका स्वास्थ्यचौकीबाट १९४ र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट दुई हजार ९८४ महिलाले प्रसूति सेवा लिएका छन् ।

यस्तै डुरुवा स्वास्थ्यचौकीबाट ६१, पवन नगर स्वास्थ्यचौकीबाट ३६, मानपुर स्वास्थ्यचौकीबाट ४७, उरहरी स्वास्थ्य चौकीबाट २६, फूलबारी स्वास्थ्यचौकीबाट २२ र विजौरी स्वास्थ्यचौकीबाट तीन महिलाले प्रसूति सेवा लिएका छन् ।

रासस

 
 
  
 

You may also like