हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकप्टर पठाइँदै

by समतल अनलाइन

जुम्ला । कर्णाली प्रदेश सरकारले जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा हिउँमा फसेकाहरुलाई उद्धार गर्न हेलिकप्टर पठाउन थालेको छ ।
बिहीवार देखि परेको हिमपातका कारण जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा गएका तातोपानी ८ का ५५ जना स्थानीय सम्पर्कविहीन छन् । उनीहरुसँग फोन सम्पर्क हुन सकेको छैन । स्थानीयका अनुसार पाटन क्षेत्रको गाग्री र ऐडी ओढारमा बसेका छन् । उनीहरु सहजै रुपमा हिउँ छिचोलेर घर फर्कने अवस्था छैन ।

स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय जुम्लाले हिउँमा फसेका जुम्ली नागरिकको उद्धारको लागि कणर्ाली प्रदेश सरकारलाई आग्रह गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले हिउँमा फसेका सबैको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको बताए । उनका अनुसार हेलिकप्टरमा तत्कालका लागि आवश्यक खाद्यन्न समेत पठाउन थालिएको छ ।

अहिले नेपाली सेनाको ठुलो हेलिकप्टर छैन । सानो हेलिकप्टर पठाउन लागिएको उनले बताए । मुख्यमन्त्री शाहीले भने,‘त्यो क्षेत्रमा हिउँ पाँच फिट सम्म परेको भन्ने सुचना प्राप्त भएको छ । हेलि अवतरण गर्न सकिने अवस्था हुन सक्छ । भोकबाट बच्न तत्काल उनीहरुलाई खाद्यन्न खसाल्ने गरी हेलिकप्टर पठाउन थालिएको छ ।’

हेलिकप्टर सिंधै हिउँमा फसेका नागरिक बसेको क्षेत्रतिर जानेछ। आन्तरिक मामिला तथा कानुनमन्त्रालयका निमित्त सचिव निधिराज न्यौपाने एक जना स्थानीय सहित आवश्यक खानेकुरा सहित हेलि उड्न थालेको बताउँछन् । तातोपानी ८ का सुरतबहादुर शाही चिउरा,दालमोठ,चाउचाउ जस्ता खानेकुरा लिएर हेलिकप्टरमा आउन लागेका हुन् । पाटन क्षेत्र तातोपानी ८ टोप्ला गाउँ देखि एक दिनको पैदल दू्ररीमा पर्छ । जडिबुटी संकलन गर्न गएका स्थानीय पाटनको गाग्री, एडि, खोटी सल्ला र ध्वनी ओढारमा फसेको स्थानीय बताउँछन् ।

उनीहरु सेतक चिनी कोर्न पाटन गएका थिए । चिसोले कठ्यांग्रिएर स्थानीय जैकुरा शाही र तातोपानी ७ बारागाउँका मुनबहादुर रावतको मृत्यु भइसकेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँमा फसेका व्यक्तिहरुको उद्धार कार्य सुरु भएको बताइन् ।

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले हिउँमा फसेका मानिसका लागि तत्काल खाद्यान्न र चिसोबाट बचाउने साम्रगी जुगाड गरिएको तर हेलिकोप्टर विना खाद्य साग्रागी त्यहाँ पुर्याउन असंभव भएको बताए । उनले भने, ‘सबै मिलेर उनीहरुलाई बचाउनु प्रमुख काम हो । सबैले राहत तथा उद्धार कार्यमा जुट्नु पर्ने देखिन्छ । स्थानीय सरकार तयारी अवस्थामा रहेको छ ।’

मुख्यमन्त्री शाहीका अनुसार हेलिकोप्टर जुम्ला खलंगा अवतरण गर्ने छैन । जाजरकोट र जुम्लाको सिमामा रहेको ग्राग्री पाटनमा जुनीचाँदे गाउपालिका भएर सिधै पठाउने तयारी भइरहेको छ । उनले हिउँमा फसेका सबैको उद्धार तथा राहतका लागि कर्णाली सरकार तयारी अवस्थामा रहेको बताए । गाउँका ५५ जना हिउँमा फसेपछि टोप्ला गाउँ चिन्तामा छ ।

 
 
  
 

You may also like