‘बिचौलिया पोस्न किसानका नाममा दूधको मूल्यवृद्धि’

by समतल अनलाइन

काठमाडौं । सरकारले दूधको मूल्य बढाएकोमा उपभोक्तकर्मीले आपत्ति जनाएका छन् । सोमबार सरकारले किसानको नाममा बढाएको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वास्तविक किसानको हातमा नपुग्ने र बिचौलियाको मात्र पोसिने उपभोक्ताकर्मीको भनाइ छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बिचौलिया पोस्न सरकारले किसानको नाममा दूधको मूल्यवृद्धि गरेकोे आरोप लगाए । ‘एउटा गाईको गोठ, एउटा बाल्टिन समेत नभएका बिचौलियालाई पोस्नु किसानको नाममा सरकारले दूधको मूल्यवृद्धि हो,’ अध्यक्ष महर्जन भने, ‘सरकारले दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा पुर्‍;याए पनि गाईको गोठमा गोबर सोहोर्ने किसानले पाउने मूल्य भनेको ४० देखि ४५ रुपैयाँ मात्र हो ।’

यो खबर आजको राजधानी दैनिकमा कौशिला कुँवरले लेखेकी छन् । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिना सरकारले कुनै अध्ययन अनुसन्धान नगरी हचुवाको भरमा दूधको मूल्य बढाएको बताउँछन् । किसानका नाममा सीमित व्यापारीलाई पोस्न सरकारले दूधको मूल्यवृद्धि गरेको अध्यक्ष तिमल्सिनाको भनाइ छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६.०४ रुपैयाँ कायम गर्ने निणर्य गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू हुने मन्त्रालयको भनाइ छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले सरकारले बढाएको मूल्य व्यापारीका लागि नभएर किसानले पाउने दावी गरे । प्रवक्ता सन्जेलले उपभोक्ताले पाउने मूल्य अहिले नबढेको जानकारी दिए ।

‘किसानले फ्याटको आधारमा पाउने मूल्य बढाइएको हो, अहिलेलाई उपभोक्ताका लागि मूल्य निर्धारण भएको छैन, ‘प्रवक्ता सन्जेलले भने ‘कच्चा दूधको मूल्यवृद्धि फ्याट र एसएनएफका आधारमा हुन्छ ।’ सरकारले दूधको न्यूनतम् फ्याट ४ प्रतिशत र एसएनएफ ८ प्रतिशत कायम गरेको छ । ‘फ्याट र एसएनएफ बढी भए किसानले दूधमा बढी मूल्य पाउँछन्,’ प्रवक्ता सन्जेलले भने ।

 
 
  
 

You may also like