एमसीए नेपालले भन्यो- एमसीसी सम्झौताबारे कुनै ‘गोप्य’ र लुकाइएका दस्ताबेज छैन

by समतल अनलाइन

काठमाडौं । (एमसीए-नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी कुनै गोप्य र लुकाइएका दस्ताबेज नरहेको बताएको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर एमसीए नेपालले एमसीसीबारे सबै दस्ताबेज संस्थाको वेबसाइटमा रहेको र त्यहाँ उपलब्धबाहेक अरू कुनै गोप्य दस्ताबे नरहेको बताएको हो ।

सोमबार पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले एमसीसीसम्बन्धी थप ६/७ वटा सहायक दस्तावेज रहेको बताएका थिए । अन्य सञ्चारमाध्यममा समेत थप दस्तावेजबारे समाचार प्रकाशित भएपछि एमसीए नेपालले आज विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेको हो ।

एमसीए नेपालले एमसीसी नेपाल कम्प्याक्टसम्बन्धी गोप्य वा लुकाइएका दस्तावेजहरु प्राप्त भएको अर्थ लाग्ने भनाइ हालै विभिन्न सञ्चारमाध्यममा देखिएको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

‘एमसीए-नेपाल हदैसम्म पारदर्शिता अपनाउने संस्था हो र यस संस्थाले सावर्जनिक महत्वका सम्पूणर् दस्ताबेजहरू आफ्ना वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको छ । एमसीए-नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसिए-नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरीत हुन्छ’, विज्ञप्तिमा भनिएको छ ।

एमसीए नेपालले गोप्य भनिएका कुनै पनि दस्ताबेज एमसीसीसँग गरिएका सम्झौता नभएको पनि विज्ञप्तिमा भनिएको छ । एमाले नेता भीम रावलले तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले एमसीसीसँग गोप्य सम्झौता गरेको दाबी गर्दै आएका छन् ।

 

 
 
  
 

You may also like