, नगर र जिसस महासंघको माग : स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गरियोस्

by समतल अनलाइन

काठमाडौ।स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरू गर्न जनप्रतिनिधिहरुको साझा तीन वटा संस्थाले माग गरेका छन्। स्थानीय तहका छात्रा संगठनहरू गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न माग गरेको हो ।

तिनै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल स्थानीय तहको निर्वाचन प्रक्रिया सुरू गर्न माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठ र जिसस महासंघ अध्यक्ष नवराज गेलालले विज्ञप्ति जारी गरेर स्थानीय तहको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न माग गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा अगाडि भनिएको छ, ‘आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । आवधिक रुपमा निर्वाचन गर्न नसक्दा विगतमा १५ वर्ष स्थानीय निकाय जनप्रतिनिधिविहिन भएसँगै स्थानीय लोकतन्त्रको संस्थागत विकासमा २०५९(२०७४ अत्यन्त प्रतिकुल रहेको यथार्थताकोसमेत यहाँ पुनः स्मरण गराउन चाहान्छौं । स्थानीय सरकारका हामी सबै जनप्रतिनिधिहरु समयमा नै आवधिक निर्वाचन सम्पन्न होस् र एक दिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहिन नहोस् भन्ने चाहन्छौं ।’

स्थानीय तहको निर्वाचन भएको पाँच वर्षको कार्यकाल समाप्त हुँदैछ । स्थानीय तहको निर्वाचन ऐन २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश: २०७९ जेठ ७ असार २१ र असोज ७ गते सकिने भएकोले दोस्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रक्रिया सुरु गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गरिएको हो ।

संविधान र विद्यमान कानुन अनुसार स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र अनिवार्य रुपमा गरिसक्नु पर्नेछ । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले कम्तीमा १ सय २० दिनको समय चाहिने बताइरहेको अवस्थामा सरकारले तत्कालै स्थानीय तहको चुनावको मिति घोषणा गर्नुपर्नेछ ।

 
 
  
 

You may also like