मौसममा सुधार आएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ : मन्त्री आले

by समतल अनलाइन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउने बित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ हुने जानकारी दिएका छन् ।
शनिबार विमानस्थलको अनुगमनका गर्दै उहाँले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेशन फ्लाइट हुन नसकेको बताए । उनले भने, ‘क्यालीब्रेसन फ्लाइटका लागि सम्पूणर् तयारी पूरा भइसकेको छ, मौसममा सुधार भए क्यालिब्रेशन फ्लाइट गर्छौ ।’ मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चाँडै उडान सुरु हुने बताए ।

उक्त विमानस्थलमा जडान गर्नुपर्ने थप नयाँ उपकरण तथा निर्माणका क्रममा रहेका भौतिक संरचना चाँडो निर्माण सम्पन्न गर्नसमेत मन्त्री आलेले निर्देशन दिएका छन् । यसैगरी उनले उक्त विमानस्थलको धावनमार्ग, कन्ट्रोल टावर, यात्रु आवागमन तथा प्रस्थान कक्षको समेत निरीक्षण गरेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्याण्डको एरोथाइको प्राविधिक टोलीले क्यालिब्रेसन फ्लाइट गर्ने तयारी रहेको बताए । उनले भने, ‘क्यालिब्रेशन फ्लाइट एरोथाइको प्राविधिक टोलीले गर्छ, उनीहरुले समस्या छैन भनेपछि परीक्षण उडान हाम्रो प्राविधिक टोलीले गर्ने तयारी भएको छ ।’ क्यालिब्रेशन फ्लाइटमा धावनमार्गको एलाइनमेन्ट, बत्ती, उपकरण जाँच गर्ने र सबै चिजको रिपोर्ट ठिक भएपछि परीक्षण उडान गर्नुपर्ने नियम छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कुल ८०० बिघा क्षेत्रफले छ ।

 
 
  
 

You may also like